मेरा कथा : पत्रकारितादेखि पत्रकारितासम्म 

मिडिया पोइन्ट बाट २०५५ सालमा १० महिने पत्रकारिता शुरु गर्दा मेरी छोरी मात्र ९ महिनाकी थिईन । स्नातक तह उर्तीण पश्चात तगारो लागेको मेरो शैक्षिक जीवनको शुरुवात पत्रकारिताको अध्ययन बाट फेरी शुरु भयो । कान्तिपुर दैनिकका तत्कालिन डेस्क एडिटर श्री नारायण वाग्लेको उत्साहवद्र्धक सहयोग र साथीहरु संगको सहकार्यले इन्टर्नसिपको पत्रकार भईकन पनि केही उत्कृष्ट फिचर लेखनमा मलाई सहयोग पुुग्यो । ट्राफिक प्रहरीको स्वास्थ्यमा काठमाडौको प्रदुषणले पारेको प्रभाव, उपत्यका तीन शहर मध्य सवै भन्दा सफा भक्तपुर जस्ता चर्चित वातावरण जनित स्टोरीहरु जसलाई भारतीय टेलिभिजनहरुले समेत कभर गरको थियो, एउटा प्रशिक्षार्थी पत्रकारको हैसियत राख्ने विद्यार्थी मलाई गौरवको विषय नै थियो ।

प्रशिक्षार्थीको समय सकिए पश्चात समाचार पत्र दैनिकमा आवेदन खुले लगत्तै आवेदन दिएं, लिखित र अन्तर्वार्ता दुवै राम्रो गरियो । तर अनुभव थिएन, तत्कालिन समचार पत्रका प्रकाशक श्री भरतलाल श्रेष्ठ ज्युले अन्तर्वार्ता लिए पश्चात भन्नुभो, “अहिले प्रतिक्षा सुचिमा राख्छु, केही समय काम गर्नुस अनि नियुक्ति दिन्छु” । मैले हुन्छ भने । म एक नम्बरमा र अमिका राजथलाजी दोश्रो नम्बरमा हुनुहुन्थ्यो प्रतिक्षा सुचिमा । मैले काम गरें अर्थ विटमा । मेरो डेस्क एडिटर हुनुहुथ्यो विमल नेपाल । निकै शालीन व्यतित्वका धनी र जुनियरलाई निकै प्रोत्साहीत गर्ने उहांको सौहाद्रतामा काम गर्ने मौकालाई म आफनो भाग्यकै रुपमा लिन्छु । निश्चय नै पत्रकारिता मेरो रुचि र प्रिय विषय बन्यो । तर समय एउटै हुदैन रैछ ।

घरको आर्थिक अवस्था थेग्न मलाई तत्काल आर्थिक जोहमा श्रीमानलाई सहयोग गर्न आवश्यक भयो । समाचार पत्रमा नियुक्तिका लागि पर्खने समय भएन मसंग । भर्खर हुर्कदै गरेको पत्रकारिताको जीवनलाई परित्याग गर्दै एउटा सरकारी जागिरे बन्न पुगें म । त्यो मेरो बाध्यता र कर्तव्य दुवै थियो । तर पत्रकारितालाई त्याग्न भने सकिएन । जागिरे जीवन संगै पत्रकारितामा मास्र्टस गर्न थालें र केही लेख्न पनि थालें । मेरो लेखन शैलीकै कारण पछिल्ला दिनमा कार्यालयका प्रेस विज्ञप्ति, समाचार लगायत लेखनकार्य लागि गहन जिम्मेवारी पनि दिइयो । त्यो ठुलो उपलब्धि थियो मेरो लागि । उतार चढाव फेरी पनि आई रह्यो जीवनमा । संस्थाका सुरुवाती दिनदेखि प्रशासकको हैसियतले काम गरेको सरकारी संस्थामा म लिखितमा पास इनर््टभ्युमा फेल भएं । परिक्षा परिणाम चित्त बुझेन र सर्वोच्चमा रीट हालें र पुन जनप्रशासन विषयमा मास्र्टर्स पढ्न थालें । जनआस्था मा आफनोमनका व्यथा मेरो कथा मार्फत पोखें ।

जनआस्था साप्ताहिकमा प्रकाशित मेरो कथाले तत्कान्लि अध्यक्ष श्री इश्वरराज वन्त, रजिष्ट्रार इ.डाक्टर श्री निरोज पाण्डे लगायतका पदाधिकारीहरु लगायत प्रथम महिला मन्त्री हिसिला यमी लगायतका हस्तीहरु बीच हलचल ल्याउने काम ग¥यो । संयोग नै थियो त्यो, गणतन्त्रात्मक नेपालका पहिलो विभागिय मन्त्री महिला र संस्थाकोे ईतिहासमा पहिलो पल्ट महिला पदाधिकारी नियुक्ती लिएका इन्जिनियर द्वय अनुराधा अधिकारी र तिमिला यमीहरुको आगमन संगै मेरो जागिरे जीवनले विश्राम लियो । अचम्मको छ हाम्रो नेपालको कर्मचारी संयन्त्र पनि । जे होस काम गर्ने हौसला भने मरेन । साथी द्वय पुष्पा शर्मा र संगिता लामाको सहयोग र हौसला प्राप्त भयो । मीत्र संगिता लामा अध्यक्ष रहेको कृयाशिल पत्रकार महिला (डब्लु डब्लु जे)मा स्वयंसेवीको हैसियतमा काम गर्न थालें महिनाको ५ हजार पारिश्रमिकमा । यसरी म फेरी पत्रकारिताको जीवनमा फर्कें । लगभग आठ वर्षको प्रशासकिय जागिरे जीवन विश्राम पश्चात जनआस्थाबाट मेरो पत्रकारिता जीवन फेरी सुरु भयो ।

जनआस्थामा प्रकाशित नेपालमा शरणार्थी विवाद र पशुपतिको समाधि विवाद जस्ता चर्चित स्टोरीहरु मेरा लागि उपलब्धि हुन । पछिल्ला दिनमा कान्पिुर दैनिक अन्नपुर्ण दैनिक लगायतमा लेखन कार्य सुचारु रह्यो । साथमा मातृ भाषा नेपाल भाषामा समेत कलम चलाईरहें सन्ध्या टाईम्स तथा नेपाल भाषा टाईम्समा । विशेष पत्रकारिता, सुशासन, न्याय र मानव अधिकारका सवालमा मेरा कलम चल्न थाले थोरै थोरै ।

राजधानी दैनिक, काठमाडौ पोष्ट र सन्ध्या टाईम्स नेपाल भाषा दैनिकमा मेरो लेखनले निरन्तरता लियो पनि । साथमा थोरै नेतृत्वदायी भुमिका, एमफिलको पढाई र रिर्सच आर्टिकलहरुले पनि निरनरता पाई रह्यो । यस वीचमा श्रीलंका, जापान, भारत लगायत ५ अन्र्तराष्ट्रिय गोष्ठिमा कार्य पत्र प्रस्तुत गरियो पत्रकारिता विषयमा नै । जे होस पत्रकारिताले मलाई एउटा अनुसन्धानकर्मी समेतको पहिचान दियो । अनुसन्धानका क्रममा लाहुर्निपबाट सर्वप्रथम फेलोसिपमा पशुपतिको समाधि विवादमा लेख्ने मौका प्राप्त भयो । मलाई गर्व छ, जनआस्थामा त्यो स्टोरी छापे लगत्तै सर्वोच्च अदालतले पशुपतिमा हिन्दु र बौद्ध बाहेकले अन्तीम संस्कार गर्न नपाउने निर्णय गरेको थियो । जसले संकटमा परेका किरांती समुदायहरुको समाधि विवादलाई टुँग्याउने काम ग¥यो ।

अनुसन्धानको निरन्ता खोज पत्रकारिता केन्द्र, इण्डिजिनस भ्वइस अफ एसिया तथा एसियन इण्डििजिनस पिपुल्स प्याक्ट लगायतका संस्थाको फेलोसिपमा अनुसन्धान गर्ने अवसरले लियो । साथमा नेपालमा प्रेस स्वतन्त्रताको अवस्थाको विषयमा लेखिएको मेरो मास्टर्सको सोध पत्रका लागि मार्टिन चौतारीबाट फेलोसिप प्राप्त गर्ने अवसर मेरो लागि ठुलो शैक्षिक उपलब्धि बन्यो । अहिले हालै मात्र नेपाल आदिवासी जनजाति पत्रकार महासंघले मलाई छापा माध्ययमको तर्फबाट आदिवासी जनजाति राष्ट्रिय पुरस्कारबाट पुरस्कृत गरेकोमा म निकै गौरन्वावित भएकीछु ।

पत्रकारिताको पर्दापनको ठयाक्कै १९ वर्ष पछि मैले जीवनमा पहिलो पल्ट पुरष्कृत हुने सौभाग्य प्राप्त गरें । म स्नातकसम्म भुगोल र अर्थशास्त्रको विद्यार्थी । पत्रकारितामा रुची भएकै कारण १० महिने तालीम लिएं । घरको काम छोरा छोरीको लालनपालन संगै थोरै समय अध्ययनका लागि जोह गरेथें मैले । आज त्यसैको प्रतिफल म प्राप्त गर्दै छु । पाँच वर्षसम्म न्यायका लागि सर्वोच्च धाएका मेरा संर्घषका कथाहरु लेख्ने दिन पनि आउलान जीवनमा लेखौंला । संविधानले सुनिश्चित गरेको रोजगारी र बाँच्न पाउने अधिकारका लागि लडेको त्यो पाँच वर्षका अवधिमा मैले के गुमाएं वा के पाएं ती कथाहरु पनि पछिल्ला दिनहरुमा लेखिएलान तर आज मलाई लागेको छ त्यो जे भयो ठीक भयो । किनकी यदी म जागिरे नै रहेकी भए आज मेरो पहिचान आजिवन एक सुब्बा सरहकोसम्म हुन्थ्यो होला । कारण त्यो संस्थामा अधिकृतको दरबन्दि श्रृजना गरी कर्मचारीलाई प्रोत्साहित गर्ने महान हृदयका पदाधिकारीहरु थिएनन् । जीवनको यो उत्तरार्धमा पत्रकारिताले मेरो पहिचान दियो, पैसा कमाउन नसकौला भविश्यमा पनि तर नाम र प्रतिष्ठा थोरै समयमा धेरै कमाएं मैले । कमसे कम म आफनो पहिचानबाट मर्ने छु,मलाई गौरब छ । म आभारी छु प्रधान न्यायधिस (तात्कालीन न्यायधिस) शुशिला कार्कीज्यु प्रति र मेरा वकिल श्री शंभु थापा प्रति जसले राज्यका हरेक निकायमा ३३ प्रतिशत महिलाको अनिवार्यतालाई अवहेलना गरी पुरुषको हकमा न्याय दिलाएर म महिला माथि अन्याय गर्नु भो । अहिलेको परिप्रेक्षमा त्यो मेरो लागि न्याय बन्यो ।

meera-rajbhandari-1

एउटा अनुभव मेरो । हामीले निश्र्वाथ रुपमा काम गर्दै जानु पर्छ त्यसको प्रतिफल ढिलो चांडो पाईदो रहेछ । हो, जागिरे जीवन पश्चात मैले आर्थिक रुपमा खासै उपलब्धि हासील गर्न सकिन । लेखन कार्यबाट आफनो नीजी खर्चसम्म उठाउन सकें । तर मेरो अध्ययन, मैले घरमा बनाएको एउटा शैक्षिक वातावरणले मेरा नानीहरुले पढ्नु पर्छ भन्ने बुझे । जसका कारण मैले मेरो देशका लागि योग्य नागरिकहरु दिन सकें जस्तो लाग्छ । जीवनमा सवै कुरा सोचे जस्तो पाईदैन तर जे प्राप्त छ, त्यसलाई उपलब्धि र गौरवको रुपमा लिन सिक्नु पर्छ । जीवनमा के गुमाएं भन्दा पनि के पाएं भन्नेमा केन्द्रित रहनु जीवनको आदर्श र उपलब्धी हो जस्तो लाग्छ । जीवनको सही अर्थ र सारांश पनि यही हो जस्तो लाग्छ ।

आभारी छु म मलाई पत्रकारको परिचयबाट विभुशित गर्नेे मेरा श्रद्धेय गुरु सर्व श्री श्रीराम सिंह बस्नेत, श्री अर्जुन बिष्ट मिडिया पोइन्ट, मलाई पुनः पत्रकारितामा प्रवेश गर्न प्रोत्साहित गर्ने श्रद्धेय दाज्यु श्री किशोर श्रेष्ठ प्रधान सम्पादक जनआस्था दैनिक, विश्वमणि सुवेदी दाई जनआस्था, श्री सुरेश आचार्य तात्कालीन संयोजक –तात्कलीन) खोज पत्रकारिता केन्द्र, श्री प्रत्युश वन्त माटीर्न चौतारी, श्री सुरेश किरण मानन्धर प्रधान सम्पादक संध्या टाईम्स दैनिक – हाल नेपाल भाषा टाईम्स), श्री राजकुमार दिक्पाल अन्नपुर्ण पोष्ट, श्री गणेश बस्नेत सम्पादक राजधानी दैनिक, श्री रमेश श्रेष्ठ तात्कालीन संयोजक नेपाल जोर्नल सूचना विभाग र गोरखापत्र दैनिकका प्रधान सम्पादक श्री पुष्कर माथेमा तथा मेरो योगदानको कदर गर्दै मलाई पुरष्कृत गरी गौरवान्वित गर्ने संस्था नेपाल आदिवासी जनजाति पत्रकार महासंघका अध्यक्ष श्री डण्ड गुरुंग, महासचिव श्री गजुरधन राई लगायत सम्पुर्ण फोनिज परिवार तथा पुरस्कार चयन समितिका संयोजक श्री पुष्कर माथेमा, सदस्य श्री टिकाराम राई तथा मोहन सिंह लामा लगायत मेरो नेतृत्वमा रहेको नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज काठमार्डौ शाखाका मेरा सचिव श्री मानध्वज लामा लगायत कार्य समितिका सवै सदस्यप्रति प्रति म सदा आभारी रहने छु । अन्तमा मलाई यस महासंघमा आवद्ध गराउनु हुने तात्कालीन फोनिजका केन्द्रिय अध्यक्ष श्री खिम घले, फोनिज काठमाडौका अध्यक्ष श्री टहल थामी तथा उपाध्यक्ष श्री प्रज्वल श्रेष्ठ प्रति पनि म सदा आभारी रहने छु । आभारी छुं मेरा दौंतरी मित्र पुष्पा शर्मा ( एशोसियत प्रोफेसर, भुगोल केन्द्रिय विभाग ) तथा मित्र संगिता लामा लगायत क्रियाशिल पत्रकार महिला डब्लु डब्लु जे परिवारप्रति तथा मेरा अध्यक्ष श्रद्धेय अध्यक्ष श्री श्रीकृष्ण महर्जन (नेवा पत्रकार राष्ट्रिय दबु) । अनि आभारी छु मेरा जनप्रशासन क्याम्पसका मेरा सोध पत्रका गाइड श्रद्येय प्रोफेसर डाक्टर श्रीकृष्ण श्रेष्ठ लगायत सम्पुर्ण प्रोफेसर तथा प्राध्यापक एवं कर्मचारी परिवार प्रति जसले मलाई निरन्तर शैक्षिक पहिचानका उचाईमा पुग्न हौसला दिनु भो । विशेष मेरा श्रीमान जसले मलाई यो हैसियतसम्म पुग्न प्रेरित गर्नु भो म सदा आभारी रहने छु ।

तपाईहरुको निरन्तर प्रोत्साहन र योगदानका कारण आज मेरो पहिचान बनेको छ, मलाई गर्व छ । फेरी पनि म प्रतिवद्ध हुने छु । विशेष पत्रकारका आवाज तथा आवाज विहिनहरुको आवाज बनेर न्याय र समतामुलक समाज र राष्ट्र निमार्णका लागि मानव अधिकारको रुपमा रहेको आदिवासी जनजाति लगायत विभेद, बहिस्कृत र विस्थापितमा रहेका नागरिकहरुको आवाजलाई आफनो कलमको माध्यमबाटबाट राज्य सयन्त्रसम्म पुु¥याउने जमर्कोलाई निरनरता दिने मेरो प्रयास रहने छ ।

बुध, अशोज २६, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...