स्वदेश फर्किएर महराले भने ,नेपालको विकास र पुनःनिर्माणमा थप सहयोगको आह्वान गरे

काठमाडौं, असोज २४ ।
उपप्रधानमन्त्री एवं अर्थमन्त्री कृष्णबहादुर महराले विश्व बैंक र अन्तर्रा्ष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा नेपालको विकास र पुनःनिर्माणका लागि थप सहयोगको आग्रह गरेको बताउनु भएको छ ।

संयुक्तराज्य अमेरिकाको वासिंगटन डिसीमा सम्पन्न बैठकमा सहभागी भएर आज स्वदेश फर्कनुभएका महराले विमानस्थलमा पत्रकारसँग कुरा गर्दै भूकम्पपछिको पुनःनिर्माणको प्रगतिको अवस्थाबारे जानकारी गराइ थप सहयोगका लागि आह्वान गरेको बताउनु भयो ।

महराले विश्वभरि रहेको गरिबी र असमानताको अन्त्य तथा नेपालको विकास र पुनःनिर्माणका सहयोगका क्षेत्रका विषयमा सम्मेलनमा सम्बोधन गरेको जानकारी गराउदै त्यसले आपसी विश्वासको वातावरण तय भएको उल्लेख गर्नुभयो ।

दातृनिकायले नेपाल सरकारले भूकम्पपीडितलाई निजी आवास बनाउन दिने भनिएको थप रु एक लाख कसरी वितरण गर्ने ? भन्नेबारेमा जिज्ञासा राखेका थिए ।

वार्षिक बैठकमा विश्वका १७९ मुलुकका प्रतिनिधि सहभागी थिए । सोक्रममा विश्व बैंक, एसियाली विकास बैंक र अरु आर्थिक क्षेत्रका संस्थाका उच्चस्तरीय प्रतिनिधिसँग अनौपचारिक भेटवार्ता भएको थियो ।

भविष्यमा द्विपक्षीय छलफलबाट थप सहयोगबारे ठोस निर्णय हुने अर्थमन्त्री महराले जानकारी दिनुभयो । बैठकमा नेपालका तर्फबाट महराको नेतृत्वमा अर्थसचिव शान्तराज सुवेदी, नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपाल, प्रमुख स्वकीयसचिव हिमाल शर्मालगायतको टोली असोज १६ गते त्यसतर्फ गएको थियो ।
यस्तै अमेरिकास्थित नेपाली दूतावासबाट चार उच्च कर्मचारीले पनि बैठकमा भाग लिएका थिए ।

सोम, अशोज २४, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...