‘प्राथमिक मनोबैज्ञानिक सहयोग’ विश्व मानसिक स्वास्थ्य दिवस–२०१६

मानसिक स्वास्थ्यका विषयमा जनचेतना फैलाउने, यस क्षेत्रमा भए गरेका उपलब्धि, समस्या एवं चुनौतिका विषयमा छलफल गर्ने, मानसिक रोगीको मानव अधिकारको विषयमा वकालत गर्ने जस्ता विविध उद्देश्यका साथ प्रत्येक वर्ष १० अक्टोबर (आश्विन २४) का दिन विश्व मानसिक स्वास्थ्य दिवस मनाउने गरिन्छ । नेपालमा पनि यस वर्षको विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा विभिन्न कार्यक्रमहरु गर्दै मनाइएको छ ।

स्वास्थ्य मन्त्री मा.स्गगन कुमार थापा, स्वास्थ्य सचिव डा.सेनेन्द्रराज उपे्रती लगायत यस क्षेत्रका सरोकारवालाहरुको उपस्थितीमा स्वास्थ्य मन्त्रालयमा आयोजित विशेष कार्यक्रममा नेपालमा मानसिक स्वास्थ्यको अवस्था एवं पूर्नस्थापनाका वारेमा छलफल गरिनुका साथै मानसिक एवं मनोविज्ञानको क्षेत्रमा योगदान पु¥याउनु हुने मनोचिकित्सक, मनोविद, सञ्चारकर्मी तथा संघ–सस्थालाई सम्मान गरिएको छ । उक्त विशेष समारोह बीच नेपालमा नै पहिलो पटक मानसिक एवं मनोसामाजिक सु–स्वास्थ्यका लागि राष्ट्रिय अभियानको समेत सु–आरम्भ गरियो । स्वास्थ्य मन्त्री मा.गगनकुमार थापाले अभियानका संयोजक मनोविद गोपाल ढकाललाई अभियानको व्यानर हस्तान्तरण गर्नु हुँदै अभियानको सु–आरम्भ भएको घोषणा गर्नुभयो ।

मानसिक एवं मनोसामाजिक स्वास्थ्य क्षेत्रको सम्वर्धन, प्रवर्धन र विकासमा स्वास्थ्य मन्त्री, स्वास्थ्य सचिव लगायत उपस्थित सवैले आ–आफ्नो प्रतिवद्धता समेत व्यक्त गर्नु भएको थियो । यस वर्ष सन् २०१६ को विश्व स्वास्थ्य संगठनले तय गरेको यस दिवसको नारा प्राथमिक मनोबैज्ञानिक सहयोग रहेको छ ।

manasik

व्यक्तिको जीवनमा आई पर्ने विभिन्न घटनाहरु जस्तै प्राकृतिक प्रकोप (भुईंचालो, बाढि–पहिरो) तथा मानव सिर्जित घटनाहरु (आगोलागि, सडक दुर्घटना, द्वन्द), अवस्था वा समस्या आदिका कारण व्यक्तिको मन र समाजमा उत्पन्न हुने असहज अवस्थालाई सहज बनाउनका लागि सुरुमा दिईने मनोबैज्ञानिक प्रकृतिको व्यवहारिक सहयोग नै मनोबैज्ञानिक सहयोग हो । यस्ता समस्याहरुबाट प्रभावित व्यक्ति वा समुदायलाई बेलैमा प्राथमिक मनोबैज्ञानिक सहयोग प्रदान गरिने हो भने उनिहरुमा देखा पर्नसक्ने मानसिक एवं मनोसामाजिक समस्यालाई कम गर्न सकिन्छ । नोपल भुइंचालो, बाढिपहिरो, आगोलागि, सडक दुर्घटना जस्ता घटनाका हिसावले उच्च जोखिममा पर्दछ । यसबाट प्रत्येक वर्ष लाखौं नेपालीहरु प्रभावित हुने गरेका छन् ।

गत वर्ष गएको विनासकारी भुकम्पका कारण अझै पनि धेरै मानिसहरु मानसिक एवं मनोसामाजिक समस्याले प्रभावित भएका छन् । मनोपरामर्श, मनोशिक्षा, मनोबैज्ञानिक सहयोगको माध्यमद्वारा मानसिक एवं मनोसामाजिक समस्याको रोकथाम र उपचार गर्न सकिन्छ भन्ने ज्ञानको अभाव रहेको अवस्थामा नेपालको सन्दर्भमा यस वर्षको नाराको सान्दर्भिकता अझै ठूलो छ । विश्वभरमा नै मानसिक समस्या एउटा ठूलो चुनौतिको रुपमा देखा परेको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा ४५ करोड मानिस यस समस्याबाट पिडित छन् । नेपालमा पनि ६० लाख भन्दा बढी नेपालीहरु कुनै न कुनै किसिमको मनो सामाजिक समस्या एवं मानसिक रोगबाट प्रभावित भएको अनुमान गरिएको छ । विश्वभरीमा मानसिक रोगीहरु मध्ये करिब २२ करोडले उपचारबाट बञ्चित हुनु परेकोछ । नेपाल जस्तो विकासोन्मूख देशमा भने ५ जना रोगिमा ४ जनाले त उपचारै पाउँदैनन् ।

मानसिक समस्या जुनसुकै उमेर, लिङ्ग, जात,धर्म, बर्ग र समूहका व्यक्तिलाई लाग्न सक्छ । नेपालमा मानसिक स्वास्थ्यको क्षेत्र ज्यादै पछि एवं ओझेलमा परेको छ । शिक्षा, चेतनाको कमी, मानसिक स्वास्थ्यका क्षेत्रमा विद्यमान अन्धविश्वास, दक्ष जनशक्तिको कमी, सरकारी उपेक्षा, बजेटको कमी, दातृ निकायको यस क्षेत्रमा आँखा पर्न नसक्नु, राष्ट्रिय मानसिक स्वास्थ्य नीति नहुनु, वि.स. २०५३ सालमा तत्कालिन श्री ५ को सरकारले ल्याएको नीति समेत आज सम्म लागु हुन नसक्नु जस्ता कारणबाट मानसिक स्वास्थ्यको क्षेत्रमा खासै उन्नती हुन सकेको छैन ।

मानसिक रोगीलाई अपहेलना गर्ने, उपचार नगराउने, बाँधेर वा थुनेर राख्ने, खान नदिने, काम र जिम्मेवारी तथा अधिकारबाट बञ्चित गराउने, भुत–प्रेत वा बोक्सि लाग्यो भनेर उपचारको नाममा तातो पन्युले डाम्ने जस्ता व्यवहार रोगि माथि गरेको पाइन्छ । यसले रोगिको आधारभूत मानव अधिकारमा समेत ठूलो उपहास भई रहेको छ । मानसिक समस्यालाई पनि शारीरिक समस्या झैं सहज रुपमा लिनु पर्छ । मानसिक समस्याको विषयमा छलफल–कुराकानी गर्ने र समस्या पर्दा उपचारको खोजि गर्न पछि पर्नु हुँदैन । मानसिक रोग निको हुने रोग हो । औषधीको सेवन, मनोपरामर्श तथा पूर्नस्थापना जस्ता उपचार विधीद्वारा यो रोगको उपचार गर्न सकिन्छ ।

सोम, अशोज २४, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया