दशैं अन्तर्गत आज अष्ठमी ,नवदुर्गा भवानीको पूजा आराधना गरिंदै


काठमाण्डौ ,२३ असोज ।

हिन्दु नेपालीहरुको महान पर्व बडादशैंको आठौं दिन आज , नवदुर्गा भवानीको पूजा आराधना गरी देशभर महाष्टमी पर्व मनाईंदैछ ।
आश्विन शुक्ल प्रतिपदाका दिन पूजाकोठा, दशैंघर अथवा मण्डपममा वैदिक विधिपूर्वक घटस्थापना गरिएको ठाउँमा महाष्टमीको दिन बिशेष भक्तिपूर्वक पुजाआजा गरिन्छ ।
आज मध्यरातमा बलि सहित कालरात्रिको पूजा गर्ने चलन छ ।

महाष्टमी पर्वको अवसरमा बिहानैदेखि देशभरी शक्तिका प्रतीक महाकाली, महालक्ष्मी, महासरस्वती र देवी भगवतीका मन्दिरहरुमा भक्तजनहरुको घुईंचो लागेको छ ।

काठमाडौं उपत्यकाका दक्षिणकाली, गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, शोभा भगवती, भद्रकाली, बिजेश्वरी, ईन्द्रायणी, नरदेवी, बज्रवाराही, रक्तकाली, संकटा, बंगलामुखी लगायत शक्तिपीठहरुमा बलि चढाउने र पूजाआराधना गर्नेहरुको बिहानैदेखि घुईंचो छ ।

काभ्रेको पलान्चोक भगवती, बनेपाको चण्डेश्वरी, गोरखाका गोरखकाली तथा मनकामना, सप्तरीको छिन्नमस्ता, नुवाकोटको नुवाकोट भैरवी, डोटीको शैलेश्वरी, धरानको दन्तकाली, नेपालगंजको बागेश्वरी र भोजपुरको सिद्धकाली लगायतका शक्तिपीठहरुमा पनि दर्शनार्थीको भीड लाग्छ ।

आइत, अशोज २३, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया