खाडीमा यसरी शोषित भईरहेका छन् नेपाली कामदार

के.बी. थापा मगर, साउदी

व्रिटिश र भारतमा नेपाली युवाहरु सेनामा भर्ती भएर लडेर बहादुरी देखाएका छन् । उनीहरुलाई समान अधिकार र सुविधा दिईएको छैन । तर पनि बहादुर भनेर चर्चा गरिन्छ । यता अहिले खाडीमा मजदुरी गर्न आएका युवाहरुलाई पनि ईमान्दार नेपाली कामदार भन्न त छाडिएको छैन ।
तर बिडम्बना के छ , घरलाई झाडी बनाएर खाडीमा पैसा कमाउन पुगेका युवाहरुको यहाको दुरावस्था यति दयनिय छ कि त्यसले हाम्रो श्रम र पशिना कसरी खेर गईरहेको छ थाहा हुन्छ । तर यसमा दोषी को हो ? सरकार हुनु पर्ने हो मेरो बिचारमा । यदी सरकार प्रभावकारी भएको भए म्यान पावर कम्पनीहरुले सफेद झुट सम्झोता बनाएर यहा पुर्याएर गधा जस्तो श्रमिक बनाउन बाध्य पार्न सक्ने थिएनन् होला ।
अहिले मैले कुरा गर्न खोजीरहेको साउदीको अनुभव मात्र हो ।
यहि एउटा कम्पनीमा विभिन्न डिपार्र्ट हुन्छन् । ती डिपार्र्टहरुमा विभिन्न काम अनुसारको पोस्ट हुन्छ र पोस्ट अनुसाको तलव । तर नेपाली प्रायजसोलाई लेवरको मात्र भिसामा लगिएको छ र ८ सय रियल मात्र तलव दिईएको छ । लेवरको भिसामा आएर डिपार्ट अनुसार आवस्यकता परेको जुनसुकै काम लगाउदा पनि नेपाली कामदारले माथिल्लो स्केलको तलव खान पाउदैनन् । नेपालीले काम अप्रेटरकै गरेको छ, ईन्जिनियरकै गरेको छ भने पनि उसको तलव ८ सय प्लस खाना भनेर मात्रै केही बढी दिईएको हुन्छ तर पद लेवर नै हुन्छ । पदको मात्रै हैन , देश अनुसारको भेदभाव यति छ कि कैयौ नेपालीको मन कुडिन्छ ।

nepali-worker-1
फिलिपिन्स , भारत वा पाकिस्तान तिरबाट आएका मान्छेले र नेपालबाट गएका हामीहरुले एउटै मेसिनको अप्रेटरको समान काम गरे पनि उनीहरुको तलव तीन हजार रियल सम्म छ तर नेपालीलाई त्यही काम बापत ८ सय रियल मात्रै दिईएको छ । यो भेदभाव हो कि हैन ? यसको जिम्मा कसले लिने ?
अझ नेपालमा म्यानपावरहरुले ८ घण्टाको ९ सय हुन्छ भनेर पठाउछन् । तर १२ घण्टा गर्नु पर्छ तलव १३ सय सम्म पुग्छ भनेर पठाउछन् । तर यहा आए पछि १२ घण्टा सम्म काम लगाएर पनि ९ सय रुपैया मात्र पाउने धेरै नेपाली कामदार छन् ।
महिला कामदारलाई ताला लाएर राखिन्छ 
अर्कोतिर नेपालमा गरीबी र अभावका कारण महिलाहरु समेत खाडीमा रोजगारीका लागि जाने गरेका छन् । तर उनीहरुको जेल जीवन जस्तो कठिन अवस्थामा बाच्न बाध्य हुनु परेको छ । अन्य मुलुकबाट आएका महिला कामदारको पनि दुई तीन हजार रियल तलब दिईएको हुन्छ , तर नेपालीलाई ८ सय मात्रै ।
विभेद यति सम्म छ कि रमदान जस्तो पर्वको बेला अरु महिलालाई ६ दिन सम्म छुट्टी दिएको हुन्छ तर नेपालीले त्यो समयमा पनि काम गर्नु परीरहेको छ त्यही ८ सय भित्र । कम्पनीको ड्युडी सकिए पछि होस्टेलमा बस्ने क्रममा ३ जनाको क्षमता भएको कोठामा १५÷२० जना सम्म राखेको हुन्छ कोचेर । त्यसमा पनि बाहिरबाट ताला लगाईदिन्छ । कतै जाने , घुम्ने र बाहिर हेर्ने समेत अवसर दिईएको हुदैन । महिलाहरुले ८सय रियलका लागि भेडाबाख्रा जस्तो र जेल जीवन बिताउनु परीरहेको छ । सगरमाथाको देश भनेर चिनिए पनि संसारभर गरीबीका कारण हाम्रा दाजुभाईहरु न्युन स्तरको काम र दाममा जानु परेको छ , खै राज्यको कानमा कसले तेल हालिदिएको छ स्वदेशमै रोजगारीको अवस्था सृजना गर्नलाई ? यसरी नेपालीहरु कहिले सम्म काम गर्न सक्छन् ? त्यो दुतावासले के गरीरहेको छ ? किन हाम्रा समस्याहरु उठाउदैन ।
लौ दाजु भाई हो , साउदी , मलेशिया , कतार जुन मुलुक आए पनि काम र दाम म्यानपावरले भने जस्तो हुदैन । बुद्धी पुर्याएर , बिचार गरेर मात्र आउनुहोला बैदेशिक रोजगारीमा ।
–हाल साउदीबाट

शनि, अशोज २२, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...