परराष्ट्रमन्त्री महत थाइल्यान्ड प्रस्थान

काठमाडौं, २१ असोज । दोस्रो एसिया सहयोग संवाद (एसीडी) सम्मेलनमा भाग लिन परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत आज थाइल्यान्ड प्रस्थान गरेका छन् ।
असोज २२ देखि २४ गते बैंककमा हुने सम्मेलनमा नेपालबाट मन्त्री डा.महतसहितको टोली त्यसतर्फ गएको हो । मन्त्री डा. महतसँगै परराष्ट्र सचिव शङ्करदास बैरागी, थाइल्यान्डका लागि नेपाली राजदूत खगनाथ अधिकारी र सहसचिव मणिप्रसाद भट्टराईलगायत सम्मेलनमा सहभागी हुनेछन् ।
‘एक एसिया, विविध बल’ विषयमा हुने सो सम्मेलनमा मन्त्री डा. महतले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।
एसिया सहयोग २०३० को दृष्टिकोण र विकासको साझेदारका विषयमा पनि छलफल हुने सो सम्मेलनमा बैंकक घोषणापत्र जारी गरिनेछ ।
एसियाको क्षेत्रीय सहयोग प्रवद्र्धन गर्ने उद्देश्यले सन् २००२ जुनमा एसीडी स्थापना भएको हो । नेपाल एसीडीको ३४औं सदस्य राष्ट्र हो । मन्त्री डा. महत आगामी असोज २५ गते स्वदेश फर्कनु हुने छ ।

शुक्र, अशोज २१, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...