लाप्राक एकीकृत बस्तीको प्रमद्वारा शिलान्यास,४४४ घरको नमूना बस्ती निर्माण हुने

१ असोज, काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल सरकार र गैरआवासीय नेपाली संघ (एनआरएन) को लगानीमा गोरखाको लाप्राकका भूकम्प पीडितहरुका लागी निर्माण हुन लागेको एकीकृत नमूना वस्तीको आज शिलान्यास गर्नुभएको छ ।

गैरआवासीय नेपाली संघ (एनआरएन)ले निर्माण गर्न लागेको वस्तीको शिलान्यास गर्दै प्रधानमन्त्री दाहालले लाप्राकमा बन्ने बस्ती नमूना बस्ती हुने बताउनु भयो ।

एनआरएनको कामको प्रशंसा गर्दै उहाले वस्ती निर्माणका लागी कुनै अप्ठ्यारो अवस्था आए सरकारले साथ दिने पनि बताउनु भएको छ ।

सो बस्ती बनेपछि देशलाई नै नयाँ सन्देश मिल्ने भन्दै उहाले यसले सम्पूर्ण नेपालीमा आशा जगाउन सक्ने धारणा राख्नुभयो । एनआरएनले देखिएको राष्ट्रिय भावना सबैका लागि प्रेरणादायी रहेको उहाको भनाई छ ।

यस्तै मूख्य सचिव डा. सोमलाल सुवेदीले वस्ती निर्माणको गुरुयोजना स्वागतयोग्य रहेको भन्दै कुनै समस्या भए साझेदारी गर्न सरकार तयार रहेको बताउनु भयो ।

एनआरएनका अध्यक्ष शेष घलेले प्रधानमन्त्रीको सम्बोधनले आफूहरुलाई ढुक्क बनाएको भन्दै १२ महिनाभित्र लाप्राकबासीलाई नयाँ घरमा सार्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
एकीकृत बस्ती प्राकृतिक र भौगोलिक संरचना, वातावरण नबिग्रने गरी स्थानीय सामाग्रीको प्रयोगद्धारा निर्माण गरिने घलेले जानकारी दिनुभयो ।

(एनआरएन)ले गत वैशाख १२ को भूकम्पबाट घरबारविहीन भएकाहरुका लागि सबै सुविधायुक्त एक हजार नमूना घर बनाइदिने घोषणा गरेको थियो । त्यसका लागि ३५ करोड रुपैयाँ खर्च हुने अनुमान छ ।

एनआरएनको गुरुयोजना अनुसार पहिलो चरणमा लाप्राकको गुन्सीपाखामा सुविधायुक्त ४४४ घरको नमूना बस्ती बनाएर लाप्राकका भूकम्प पीडितहरुलाई पुनर्बास गराइने छ ।

एनआरएनले ६१२ घर बनाउने जनाएपनि जग्गा अपुग भएकाले अहिले ४४४ मात्रै बनाउने जनाएको छ । बाँकी १५० घरका लागि नयाँ ठाउँ खोजिने जनाईएको छ ।

राष्ट्रपतिको उपस्थितिमा यसअघि नै पुनर्निर्माण प्राधिकरण र एनआरएनबीच नमूना वस्ती निर्माणको सम्झौता भएको थियो ।

अध्यक्ष घलेका अनुसार एकीकृत बस्तीमा विद्यालय, स्वास्थ्य संस्था, सामुदायिक भवन, स्थानीय जाति, जनजातिको भेषभुषा, संस्कृति र रहनसहन झल्कने एवं प्राकृतिक स्वरुप कायम हुने खालका घरहरुमा बनाइनेछ ।

संग्रहालयमा पानी घट्ट, जाँतो, ढिकी, लाइभ प्रोग्राम देखाउन मिल्ने हल, परम्परागत बस्तु र संस्कारबारे सामग्री, मन्दिर, देवल पनि निर्माण हुनेछन् । साथै सोलार इनर्जी, अपांगमैत्री संरचना बनाईने उहाले बताउनु भयो ।

बस्तीमा होमस्टे, सामुदायिक गेष्ट हाउस समेत निर्माण गरी व्यक्तिगत र संस्थागत आम्दानीको स्रोत जुटाइने संघका अध्यक्ष घलेले बताउनु भयो ।
४४४ घर आधुनिक घर निर्माणका लागि प्रतिघर ९ देखि १० लाख लागत लाग्ने छ ।

शुक्र, अशोज २१, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...