भक्तपुरमा च्याङ्गा भित्रियो

भक्तपुर, २१ असोज । हरेक बर्षको दशैंको सुरुवातसँगै भक्तपुरको सल्लाघारीमा च्याङ्गा बिक्रिका लागि ल्याउने गरिन्छ । दशैंका लागि यो बर्ष पनि सल्लाघारीमा च्याङ्गा आइसकेका छन् ।
बिगतको बर्षमा बिभिन्न स्थानबाट यस स्थानमा च्याङ्गा ल्याईने भएता पनि यो बर्ष भने मुस्ताङ्गबाट मात्र च्याङ्गा आईपुगेको छ । बिगतका बर्षमा चीनको खासा नाका हुँदै यस स्थानसम्म आउने च्याङ्गा हाल तातो पानी नाका बन्द भएका कारण त्यस क्षेत्रबाट च्याङ्गा आउन नसकेपछि मुस्ताङ्गबाट मात्र च्याङ्गा आईपुगेका हुन् ।
गत बर्षको तुलनामा यो बर्ष च्याङ्गाको मूल्य केही बढेको छ । उतै महँगो मूल्यमा खरिद गरेका कारण गत बर्ष भन्दा केही मूल्य फरक परेको बताउँछन् च्याङ्गा ब्यापारीहरु । तर पनि खाद्य संस्थाले निर्धारण गरेको मूल्यसँगै समायोजन गरेर यो बर्ष जीउँदो च्याङ्गा प्रति केजी ६ सय ५० देखि ७ सय रुपैयाँ सम्ममा बिक्रि बितरण गरिरहेको ब्यापारीहरु बताउँछन् ।
यो बर्ष सल्लाघारीमा आजसम्म झन्डै ६ हजार च्याङ्गा आईसकेको च्याङ्गा ब्यापारीहरु बताउँछन् । खसी बोका अन्य समयमा जताततै पाईने भएता पनि च्याङ्गा दशैंका समयमा मात्र पाउने भएकाले समेत भक्तपुरमा दशैको समयमा च्याङ्गाको मासु पारखीहरुले अत्याधिक खरिद गर्ने गरेका छन् ।

शुक्र, अशोज २१, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया