जुवामेला विस्थापन गर्न दलहरु नै बाधक

धरान,२० असोज।
धरानमा हरेक वर्ष दशैंतिहारको बेला लाग्दै आएको जुवा मेला परिवर्तन गरेर सांस्कृतिक उत्सव सञ्चालन गर्न खोज्दा राजनीतिक दलहरुले नै अवरोध गरेको धरानका संगीतकर्मीहरुले गुनासो गरेका छन् ।
संगीतकर्मीहरुको संस्था धरान संगीत प्रतिष्ठानले विहिबार पत्रकार सम्मेलन गरेर दलका स्थानीय नेताहरुको व्यवहारले संगीतको विकासमा काम गर्न नसकेको बताए ।
प्रतिष्ठानका अध्यक्ष मचेन लिम्बुले हरेक वर्ष धरानमा लाग्ने जुवा मेलाले धरानको बद्नाम भएकाले त्यसलाई रोक्न खोज्दा सहयोग गर्नु पर्नेमा दलहरु नै बाधक भएको बताए ।
प्रतिष्ठानका उपाध्यक्ष तथा संगीतकार जीवन भट्टराईले आफुहरुले जुवाजन्य खेल बन्द गरेर सांगीतिक उत्सवसँगै खाद्यान्न र लत्ता कपडाको सस्तो दशैं बजार सञ्चालनको प्रस्ताव गरेको बताए ।
धरानको पब्लिक हाईस्कुलमा हरेक वर्ष दशैंदेखि तिहारसम्म भव्य मेला लाग्ने गरेको थियो । राजनीतिक दल, विभिन्न गुन्डा समूह र प्रहरी प्रसासनकै मिलेमतोमा हुने मेलामा व्यापक आर्थिक चलखेल हुने गरेको चर्चा थियो । मेलामा जुवाजन्य खेल खेलाईने र युवा समूहबीच झैझगडा हुने गरेपछि केही वर्षयता मेला बद्नाम हुँदै गएको थियो । प्रतिष्ठानका कोषाध्यक्ष विकास सुुब्बाले भने ‘हामी धरानलाई स्वच्छ बनाउँने र संगीतको विकास गर्ने अभियानमा छौं तर स्थानीय दलहरुको सहयोग नपाउँदा दुख लाग्यो ।“
प्रतिष्ठानका कार्यक्रम संयोजक रमेश राई मेला लगाउन पैसाको झोला बोकेर दलहरुसँग जानुपर्ने अवस्था देखिएको बताए ।
प्रतिष्ठानले दशैंतिहारको बेला धरानवासीलाई स्वच्छ मनोरञ्जन र पारिवारिक रुपमा रमाइलो गराउने र जुवा लगायतका विकृति हटाउने अभियान सञ्चालन गर्दा नेपाली कांग्रेसका नगरसभापति तिलक राई मुख्य बाधक बनेको बताए ।
केही वर्षअघि मेलाकै विषयमा युवाहरुबीच झैझगडा भएपछि दुुईवर्ष रोकिएको मेला गत वर्षबाट पुनः सञ्चालन हुन थालेको थियो । तर गत वर्षपछि राजनीतिक दल, प्रहरीप्रसासन लगायतलाई ५० लाखभन्दा बढी पैसा बाँढिएको चर्चा चलेपछि यसपटक धरान संगीत प्रतिष्ठानले स्थानीय संगीतकर्मी, देश र विदेशका सांगीतिक व्यान्ड सहभागी गराएर सांगीतिक तथा सांस्कृतिक उत्सव आयोजना गर्ने प्रस्ताव पेश गरेको थियो ।
प्रतिष्ठानले जिल्ला प्रसासन कार्यालयमा प्रस्ताव पेश गरेपछि प्रमुुख जिल्ला अधिकारी मोहनबहादुर चापागाईंले धरान उपमहानगरपालिकाबाट निर्णय गराएर ल्याउन भनेका थिए । त्यसपछि उपमहानगरपालिकामा दलहरुबीच बैठक भएको थियो । बैठकमा नेपाली कांग्रेसका नगर सभापति तिलक राईले मेलामा विकृति हुने गरेको भन्दै यसपालि मेला लगाउन नहुने अडान लिएका थिए । प्रतिष्ठानका सल्लाहकार नविन राई विकृतिमै रमाउन चाहने केही व्यक्तिका कारण धरानको विकासले गति लिन नसकेको बताए ।

बिहि, अशोज २०, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया