दशैलगत्तै फोहरबाट काठमाण्डौमा बायोग्यास

काठमाण्डौ , आश्विन २० ।
दसैंलगत्तै बायोग्यास उत्पादन गर्ने तयारी स्वरुप काठमाडौं महानगरपालिकाले काम सुरु गरेको छ ।

महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले उपत्यका भित्रको फोहोरबाट बायोग्यास निकाल्ने तयारीस्वरुप अहिले ग्यास उत्पादनका लागि जैविक फोहोर राखी परीक्षणको काम भईरहेको जानकारी दिनुभयो ।

बायोग्यास उत्पादनका लागि कामपाको वडा नं १२, १९, २० र २१ मा संकलन गरी छुट्याइएको कुहिने र नकुहिने फोहरबाट दैनिक ३ सय टन फोहर प्रयोग गरी १४ किलोवाट बायोग्यास निकाल्ने महानगरको तयारी रहेको महानगरपालिका वातावरण व्यवस्थापन महाशाखा प्रमुख रवीनमान श्रेष्ठले बताउनु भयो ।

बायोग्यास प्लान्ट राख्न युरोपियन युनियनको ८० र कामपाले २० प्रतिशत लगानी गर्ने सम्झौता भएको छ । यो नमुना परियोजना सफल भए अन्य स्थानमा पनि यसलाई बिस्तार गरिने महानगरले जनाएको छ ।

दिगोरूपमा फोहरमैला व्यवस्थापनका लागि पनि विभिन्न किसिमको अध्ययन भईरहेको भन्दै महानगरले बायोग्यास उत्पादनसँगै काठमाडौंबाट उत्पादन हुने फोहोरको समेत दैनिक ब्यवस्थापन हुने जनाएको छ ।

काठमाण्डौमा कुहिने र नकुहिने गरी दैनिक ४ सय ५० टन फोहर उत्पादन हुने गरेको छ । दैनिक निस्कने फोहरमध्ये ६३ प्रतिशत जैविक हुने गरेको महानगरको भनाई छ ।

बिहि, अशोज २०, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...