चीनसँग जोड्ने सडक फाल्गुनन्द मार्गको निर्माण कार्य छिट्टै सकिने : प्रधानमन्त्री


काठमाडौं, असोज २० ।
प्रधानमन्त्री पुष्पकमल दाहालले चीनसँग जोड्ने सडक फाल्गुनन्द मार्गको छिट्टै निर्माण कार्य सक्न विशेष पहल गर्ने बताउनु भएको छ । उहाँले झापाको दमकदेखि इलाम, पाँचथर, ताप्लेजुङ हुँदै चीन जोड्ने सडक फाल्गुनन्द मार्गलाई थप बजेट उपलब्ध गराउन आवश्यक पहल गर्ने पनि उल्लेख गर्नु भयो ।

आज विहान प्रधानमन्त्री निवास बालुवाटारमा सो सडक निर्माणका लागि सरोकार राख्ने राजनीतिक दलका नेता, फाल्गुनन्द मार्ग निर्माण उपभोक्ता समितिका पदाधिकारी, व्यवसायी सहितको सर्वपक्षीय प्रतिनिधि मण्डलसँगको भेटघाटमा प्रधानमन्त्री दाहालले यस्तोे बताउनु भएको हो ।

उक्त सडक निर्माणपछि छोटो दुरीमै चीनको सिमानासम्म पुग्न सकिने तथा चारवटै जिल्लाका पश्चिमी भेगका जनतालाई धेरै सहजता र सुविधा उपलब्ध हुने भएकाले आफूले छिट्टै निर्माण कार्य सक्न आवश्यक पहल गर्ने बताउनु भयो ।

प्रधानमन्त्री दाहालले उक्त सडकलाई छुट्टै आयोजनामा पार्न योजना आयोगमा छलफल गर्ने पनि उल्लेख गर्नु भयो । उपभोक्ता समितिका अध्यक्ष गगन पुरीसहित सामान्य प्रशासन मन्त्री केशव बुढाथोकी, पूर्वमन्त्री अग्नि खरेल, टंक आङ्बुहाङ लगायतले प्रधानमन्त्री दाहाललाई भेटी ज्ञापनपत्र समेत बुझाएको छ ।

बिहि, अशोज २०, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया