आजबाट पचली भैरव जात्रा सुरु


काठमाडौं, १९ असोज । पचली भैरवको जात्रा आजबाट विधिवत रुपमा सुरु हुँदै छ । तिथिअनुसार आश्विन शुक्ल चतुर्थी र पञ्चमीमा पचली भैरवको मूर्तिजडित तामाको घ्याम्पोको खटजात्रा गरिन्छ ।
नेवार समुदायले पचली भैरवलाई आजु देवताका रुपमा पुज्ने गर्दछन् । उनीहरुले आजुलाई आफ्ना पूर्खा सम्झन्छन् । आजु द्यः ले लिच्छिविकालिन राजा गुणकामदेवलाई राज्य सुम्पिएको सम्झनामा जात्रा मनाउँदै आएको बताइन्छ । जात्रामा लिच्छविकालिन राजाको प्रतिनिधिका रुपमा राज खड्ग र शाहवंशीय राजाको प्रनिनिधिका रुपमा गुरुजु पल्टन उपस्थित हुने प्रचलन छ । अहिले जात्रामा गरिने नयाँ भैरवजडित घ्याम्पो पूर्वराजा ज्ञानेन्द्र शाहले बनाउन लगाएको बताइएको छ । नयाँ घ्याम्पोलाई विधिपूर्वक पूजा गरी न्यास दिइसकिएको छ ।
जात्राका लागि पुरानो घ्याम्पो जैशीदेवलस्थित घरबाट घटस्थापनाको दिन कोहिटीस्थित चित्रकारको घरमा र्पुयाइएको थियो । त्यहाँ ४ दिन राखी सिँगारपटार गरिएको घ्याम्पो आज थकुजुजुको घरमा र्पुयाइनेछ । सोही दिन पुरानो मूर्तिलाई आँगन कोठामा राखी नयाँ पचली भैरवको जात्रा निकालिन्छ । थकुजुजुको घरबाट निकालेको घ्याम्पो कोहिटी–जैसीदेवल–हयुमत–टेकु हुँदै पीठमा र्पुयाइन्छ । पीठमा थकुजुजु, आचाजु, भाजुको उपस्थितिमा बोका बलिसहित विशेष पूजा गरिन्छ ।
दोस्रो दिन हनुमान ढोका दरबारबाट गुरुजु पल्टन, माली समुदायको नेकु बाजाले स्वागत गरिन्छ । गुरुजु पल्टनद्वारा तोप पडकाएपछि नगरपरिक्रममा गराइन्छ । जात्रामा खड्गी समुदायद्वारा रुद्रविनायक देवता सम्मिलित गराउन ल्याउने चलन छ ।

बुध, अशोज १९, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया