बडादसैंको पाँचौ दिन स्कन्दमाताको पूजा आराधना गरी मनाइदै

काठमाडौं, १९ असोज । हिन्दु नेपालीहरुको महान चाड बडादसैं आज पाँचौ दिन शक्तिस्वरुपा भगवती स्कन्दमाताको विशेष पूजा गरिंदैछ । बडादसैं अन्तरगत नवरात्रीको पाँचौं दिन देवी दुर्गाको स्वरुपमध्ये भगवती स्कन्दमाताको पूजा आराधना गर्ने गरिन्छ ।

नवरात्रीको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौं दिन कालरात्रि, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजाआराधना गरिन्छ ।
स्कन्दमाता कमल ओछ्याएर बस्ने भएकाले यी देवीलाई पद््मासना देवी पनि भन्ने गरिन्छ । धार्मिक ग्रन्थका अनुसार सूर्यमण्डलकी आधिष्ठात्री देवी भएका कारण स्कन्दमाताको पूजा गर्ने भक्तजन अलौकिक तेज र कान्तिले सुसम्पन्न हुन्छन् ।
दसैंका अवसरमा देशभरका शक्तिपिठहरुमा भक्तजनको भिड लागेको छ । उपत्यकाका भद्रकाली, नक्साल, शोभा भवगती, मैतीदेवी पाथिभरा, पलान्चोक भगवती, छिन्नमस्ता, मनकामना लगायत शक्तिपीठमा विहानैदेखि दर्शनार्थीको घूईंचो छ ।

बुध, अशोज १९, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...

अन्य समाचार समाचार