दसैंको चौथो दिन आज देवीभवानी कुष्मान्डा माताकोे पूजा गरी मनाइदै

काठमान्डौ असोज १८ ।
हिन्दु नेपालीहरुको महान चाड बडादसैंको चौथो दिन आज शक्तिपीठ, देवीमन्दिर तथा घरघरका पूजाकोठाहरुमा देवीभवानी कुष्मान्डा माताको पूजा आराधना गरिँदैछ । बडादसैं अन्तरगत नवरात्रीको चौथो दिन देवी दुर्गाको स्वरुपमध्ये कुष्मान्डा माताको पूजा आराधना गर्ने गरिन्छ ।

नवरात्रीको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौं दिन कालरात्रि, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजाआराधना गरिन्छ ।

बडादसैंको चौथो दिन आज देशभरीका शक्तिपीठहरुमा कुष्मान्डा मातालाई शुभकर्म थालनी वा सृष्टिको प्रतीकको रुपमा पूजा गरिन्छ । उष्णता तथा शीतलतालाई सम तुल्याई सिर्जना गर्ने शक्ति कुष्मान्डा देवीमा रहेको बताइन्छ ।

यी देवी उष्ण रक्तसमूह मानव, चराचरुंगी तथा शीतरक्त समूह माछा, सर्प लगायतका सारा प्राणीको सिर्जना शक्ति भएकी माता भनेर शास्त्रहरुमा उल्लेख गरेको पाइन्छ ।

देवी कुष्मान्डाले ब्रह्मान्डको सृष्टि गरी पृथ्वी रचनाका लागि सूर्य भगवानलाई आफ्नो तापशक्ति दिएर प्रज्वलित बनाएको र अन्य ग्रहको समेत रचना गरी पूरै सौर्यमन्डल सन्चालन गरेको देवी भागवत लगायतका ग्रन्थहरुमा उल्लेख छ । आज दिन शक्तिपीठ तथा देवी मन्दिरहरुमा कुभिन्डाको विधिपूर्वक पूजा गरी बलिसमेत चढाउने गरिन्छ ।

मङ्ल, अशोज १८, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...