नेपाल भारत प्रबुद्ध समुह इपीजीको बैठक आजदेखि दिल्लीमा

काठमाडौ १८ असोज ।
नेपाल–भारत प्रबुद्ध समूह इपीजीको बैठक आजदेखि भारतको नयाँदिल्लीमा सुरु हुँदैछ । बैठकमा सहभागी हुन पूर्वपरराष्ट्रमन्त्री डा. भेषबहादुर थापा नेतृत्वको नेपाली टोली हिजो नै दिल्ली प्रस्थान गरेको छ ।

दुई देशबीच भएका सन्धि–सम्झौतालाई पुनरावलोकन गर्दै सम्बन्धलाई नयाँ आधारमा विकास गर्न गठन भएको प्रबुद्ध समूहको यो दोस्रो बैठक हो । समुहको पहिलो बैठक तीन महिनाअघि काठमाडौँमा बसेको थियो ।

नयाँदिल्ली बैठकमा नेपालका तर्फबाट सन् १९५० मा भएको शान्ति तथा मैत्री सन्धि पुनरावलोकनको प्रस्ताव राख्ने तयारी भएको परराष्ट्रमन्त्रालय स्रोतले जनाएको छ । उक्त सन्धिबारे पटकपटक कुरा उठे पनि कुनै निष्कर्षमा पुग्ने गरेको छैन ।

टोलीमा नेपालका तर्फबाट पूर्वपरराष्ट्रमन्त्री थापाका साथै पूर्वमन्त्री नीलाम्बर आचार्य, सांसद राजन भट्टराई र अख्तियारका पूर्व प्रमुख आयुक्त सूर्यनाथ उपाध्याय हुनुहुन्छ । यस्तै भारतका तर्फबाट सांसद भगतसिंह कोसियारी, पूर्व राजदूत जयन्तप्रसाद, प्राध्यापक बीसी उप्रेती र महेन्द्र पी लामा हुनुहुन्छ ।

नेपाल र भारतबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्षको अवसरमा दुई देशबीच हालसम्म भएका सन्धि सम्झौताहरूको पुनरावलोकन गर्दै नयाँ सम्बन्ध स्थापित गर्ने उद्देश्यका साथ पहिलोपटक कूटनीति तथा दुई देशको सम्बन्धमा गहिरो ज्ञान राख्ने व्यक्तिको संलग्नतामा ईपीजी गठन भएको हो ।

काठमाडौँमा भएको बैठकले भारतसँग सन् १९५० मा भएको शान्ति तथा मैत्री सन्धि पुनरावलोकनबारे औपचारिक छलफलमा प्रवेश गरेको थियो । यद्यपि यसको पुनरावलोकनबारे दुई देशबीच हालसम्म गम्भीर छलफल भएको छैन ।

गत असारको मध्यमा भएको समूहको पहिलो बैठकले प्रत्येक तीन महिनामा बैठक गर्ने तथा सन् १९५० लगायतका सन्धिहरूबारे अध्ययन गर्दै अघि बढ्ने निर्णय गरेको थियो ।

मङ्ल, अशोज १८, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया