इपीएल क्रिकेटको उपाधि पन्चकन्याले जित्यो

काठमाडौं, असोज १७ ।
पहिलो एभरेस्ट प्रिमियर लिग (इपीएल) ट्वेन्टी–२० क्रिकेटको उपाधि पन्चकन्या तेजले जितेको छ ।

कीर्तिपुर स्थित त्रिवि क्रिकेट मैदानमा आज भएको फाइनलमा कलर्स एक्स फ्याक्टर्सलाई ४० रनले हराउँदै पन्चकन्याले उपाधि जितेको हो ।

पहिले ब्याटिङ गरेको पन्चकन्याले युवा ब्याट्समेन आसिफ शेखको अविजित शतकीय इनिङको मद्दतले ४ विकेटको क्षतिमा १ सय ७१ रन बनाएको थियो ।

विकेटकिपर ब्याट्सम्यान शेखले प्रतियोगीताकै पहिलो शतक प्रहार गर्दै ८ छक्का र ७ चौकाको मद्दतले ६४ बलमा १११ रन बनाए । कप्तान शरद भेषवाकर पहिलो ओभरमा नै २ रन बनाएर आउट भएपछि आरिफले नै ब्याटिङ सम्हालेका थिए ।

१ सय ७२ रनको लक्ष पछ्याएको कलर्सले जवाफमा १७ ओभर ३ बलमा सबै विकेट गुमाएर १ सय ३१ रनमात्र बनाउन सक्यो ।

कप्तान ज्ञानेन्द्र मल्लले ३२ बलमा सर्वाधिक ४७ रन बनाएको इनिङमा ८ खेलाडीले दोहोरो अंकसमेत जोड्न सकेनन् ।

पन्चकन्याका करण केसीले ३ तथा कप्तान शरद भेषावकर र सुनील कँडेलले समान २–२ विकेट लिए ।

जितसँगै पन्चकन्याले पाँच लाख रुपैयाँ पुरस्कार पाएको छ । विजेतालाई भारतीय राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान अजय जडेजाले पुरस्कृत गरेका थिए ।

सोम, अशोज १७, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया