मकवानपुरमा ट्याङकर दुर्घटना हुँदा एक जनाको मृत्यु

काठमान्डौ असोज १५।
मकवानपुरमा डिजेल बोकेको ट्याङकर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य दुईजना घाइते भएका छन् । मृत्यु हुनेमा बारा गढीमाई–९ सिमराका २५ वर्षका बिनोद चौधरी रहेका छन् ।

गएराति हेटौंडाबाट मकवानपुरको थाहा नगरपालिका तर्फ डिजेल बोकेर छुटेको ना २ ख २८५२ नम्बरको ट्याङकर सिमभञ्ज्याङबाट तल खस्दा सो दुर्घटना भएको हो ।

दुर्घटनामा परी गम्भीर घाइते भएका चौधरीको उपचारको क्रममा हेटौंडाको चुरेहिल अस्पतालमा आज विहान मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

घाइते भएका सिमराका २७ वर्षका कुमार लामा र धादिङ गजुरीका १९ वर्षका मानबहादुर लामाको चुरेहिल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

शनि, अशोज १५, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...