आजबाट नेपालीहरुको वडा दशै सुरु,घरघरमा विधीपूर्वक घटस्थापना गरिदै,

काठमान्डौ असोज १५ ।
आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको महान पर्व बडा दशैं आजबाट सुरु भएको छ । नवरात्रको पहिलो दिन आज घरघरमा देवी दुर्गाको प्रतीमा स्थापना गरी घटस्थापना गरिदैं छ ।

हिन्दुधर्मालम्बीहरुले आजका दिन बिहान नै आत्मशुद्धी गरी नदी, खोला, बगर या आफूलाई पायक पर्ने ठाउँमा गई चोखो बालुवा या माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठामा राखी त्यस ठाउँमा विधिपूर्वक जमरा उमार्न जांै, मकै लगायतका अनाज रोप्ने गरिन्छ ।

आजैको दिन विधिपूर्वक घट अर्थात् घडा स्थापना गरी त्यही घडामाथि शक्तिस्वरुपा दुर्गाको पूजा आराधना गरिने भएकाले आजको दिनलाई घटस्थापना भन्ने गरिएको हो ।

घटस्थापनाको साइत आज बिहान ८ बजेर ३५ मिनेटमा शुभ रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । माता भगवतीलाई मनपर्ने बनस्पति जमरा भएकाले भगवतीलाई खुशी पार्नको लागि जमरा उमार्ने गरिएको हो ।

यसै विच घटस्थापनाको उपलक्ष्यमा राजधानीको हनुमान ढोका दरबारमा रहेको दशैघरमा वैदिक विधिपूर्वक जमरा राखि शक्तिस्वरुपा महाकाली, महालक्ष्मी र महासरस्वतीे लगायत नव दूर्गा र अन्य शक्ति पीठहरुमा नवरात्रि पूजाको शुभारम्भ हुन्छ । यसै दिनदेखि नवमीसम्म घरघरमा र देवीका मन्दिरमा पहिलो दिनकै बमोजिम भगवती, दुर्गाको पूजा, आराधना र प्रार्थना गर्ने गरिन्छ ।

आज राखिएको जमरा देवीको प्रसादका रुपमा विजया दशमीका दिन मान्यजनको हातबाट टीकासँगै लगाइने गरिन्छ । दशैको टिका लगाउदा अरु फूलको सट्टा समृद्धिको प्रतिकको पहेलो जमरालाई प्रयोग गरिन्छ । उपत्यका लगायत देशैभरको देवी मन्दिरहरुमा आज विहानैदेखि दर्शन गर्न जानेको घुईंचो लागेको छ ।

शनि, अशोज १५, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...