सरकारले मनमोहन विधेयक फिर्ता लियो

काठमाडौं, १३ असोज । सरकारले विवादास्पद मनमोहन स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक फिर्ता लिने भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा आज बसेको बैठकले संसदमा विचाराधिन रहेको विधेयक फिर्ता लिने निर्णय गरेको हो ।
यसैगरी, बैठकले राष्ट्रिय स्वास्थ्य विज्ञान प्रतिष्ठान (नाम्स) को नाम परिवर्तन गरी एमाले नेता एवम् पूर्वप्रधानमन्त्री मनमोहन अधिकारीको नाममा राख्ने निर्णयसमेत गरेको छ ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को नाम परिवर्तन गरी ‘मनमोहन स्मृति चिकित्सा विज्ञान प्रतिष्ठान’ राख्ने निर्णय गरेको हो ।
प्रा.डा. गोविन्द केसीसँग भएको सहमति अनुसार स्वास्थ्य मन्त्रालयले सो प्रस्ताव लगेको थियो । अब न्याम्सको ऐन संशोधनका लागि संसदमा विधेयक लैजानेछ ।
प्रा. डा. गोविन्द केसीको प्रमुख माग मनमोहन स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक फिर्ता गर्नु पर्ने प्रमुख माग मध्येको एक हो ।
यस्तै बैठकले अर्थ मन्त्रालयको मूख्य सल्लाहकारमा पून्यप्रसाद रेग्मीलाई नियुक्त गरेको छ । लामोसमयदेखि खाली रहेको विश्व विद्यालय अनुदान आयोगको सचिवमा प्राध्यापक देवराज अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेको छ । यसैगरी सदस्यमा तीर्थराज खनियाँ र इश्वरीप्रसाद ढकाललाई नियुक्त गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद बैठकले राष्ट्र ऋण उठाउने विधेयक संसदमा पेश गर्ने निर्णय पनि गरेको छ ।

बिहि, अशोज १३, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया