थ्रीस्टार क्लव बोर्दोलोई ट्रफिको उपाधि नजिक

काठमाडौँ, १३ असोज । ललितपुरको थ्रीस्टार क्लब बुधबार युनाइटेड सिक्किमलाई अतिरिक्त समयमा ४–१ ले पराजित गर्दै भारतको गुवहाटीमा भइरहेको ६४ औं बोर्दोलोई ट्रफि फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
गुवाहाटीस्थित नेहरु स्टेडियममा गएराति भएको सेमिफाइनलमा नेपाली राष्ट्रिय लिग विजेता थ्री स्टारले घरेलु टोली युनाइटेड सिक्किमलाई ४–१ ले हराउँदै फाइनल यात्रा तय गरेको हो । निर्धारित खेल १–१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । तर अतिरिक्त समयमा थ्री स्टारले थप तीन गोल ग¥यो ।
थ्री स्टारका लागि अफ्रिकी खेलाडी मार्टिनले दुई तथा विजय गुरुङ र विजय धिमालले समान एक गोल गरे । सिक्किमका लागि सोनाम छिरिङले गोल गरे ।
खेलको ६८औँ मिनेटमा मार्टिनले एक्लो प्रयासमा गोलकिपरलाई बिट गर्दै थ्री स्टारको खाता खोले । जित नजिक पुगेको थ्री स्टारको रक्षापङ्क्तिको फाइदा उठाउँदै खेल सकिन २ मिनेटअघि सिक्किमका सोनाम छिरिङले बराबरी गोल फर्काए ।
त्यसपछि पनि धेरै अवसर सिर्जना गरेपनि थ्री स्टारले थप गोल गर्न नसक्दा खेल अतिरिक्त समयमा धकेलियो । तीस मिनेट थपिएको अतिरिक्त समयको खेल थ्री स्टारले पूर्ण रुपमा आफ्नो पक्षमा राख्यो । खेल सुरु भएको पाचाँै मिनेटमा नै मार्टिनले पुनः थ्री स्टारलाई अग्रता दिलाए ।
त्यसको छ मिनेटपछि सिक्किमका डिफेन्डरले क्लियर गर्न नसकेको बलमा विजय धिमालले गोल गरे । अतिरिक्त समयको अन्तिम मिनेटमा सुनिल बलको क्रसलाई उपयोग गर्दै विजय गुरुङले थ्री स्टारका लागि चौथो गोल थपे र जित थप मजबुत बनाए ।
उपाधि भिडन्तका लागि फाइनलमा अब थ्री स्टारले भारतको इस्ट बङ्गालसँग प्रतिस्पर्धा गर्ने भएको छ । बुधबार नै भएको खेलमा इस्ट बङ्गालले सिलोङ लाजोङ फुटबल क्लबलाई पराजित गर्दै थ्री स्टारसँग उपाधि भिडन्त पक्का गरेको हो ।
प्रशिक्षक मेघराज केसीले सम्हालेको थ्रीस्टारले दोस्रोपल्ट बोर्दोलोई ट्रफिको फाइनल यात्रा तय गरेको हो । यस अघि सन् २०१० मा भएको फाइनलमा बंगलादेशको अबहनी लिमिटेडसँग ३–० को हार बेहोरेको थियो ।
प्रतियोगिताको फाइनल खेल शुक्रबार हुनेछ । विजेताले १६ लाख र उपविजेताले ८ लाख रुपैयाँ पाउनेछन् ।

बिहि, अशोज १३, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...