अवैध लागूऔषध खैरो हेरोइनसहित पाँचजना पक्राउ 

काठमाडौं, १२ असोज । काठमाडौंका बिभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन ४३.५ ग्राम र नगद ६८ हजार रुपैयाँसहित लागू औषध नियन्त्रण ब्यूरोको प्रहरीले ५ जनालाई पक्राउ गरेको छ ।
बिशेष सुराकीको आधारमा खटिएको प्रहरीले काठमाडौं–८ जयबागेश्वरी बस्ने २७ वर्षीय सुर्य संगतलाई काठमाडौं–८ पिंगलास्थानस्थित सडक किनारमा बा.४१ प ३४०६ नम्बरको मोटरसाइकलमा प्रतीक्षा गरेको अवस्थामा खैरो हेरोइन ७ ग्राम र नगद ४ हजारसहित तथा उनलाई लागूऔषध बिक्री गर्ने बाँके नेपालगंज–१० बस्ने ३२ वर्षीय सुनिल गुप्तालाई काठमाडौं–८ तिलगंगाबाट ५.५ ग्राम खैरो हेरोइनसहित पक्राउ गरेको हो ।
प्रारम्भिक अनुसन्धान पश्चात बाँके नेपालगंजस्थित पानस फर्मास्यूटिकल्स प्रा.लि.का लाईजन अफिसर भएको खुल्न आएका गुप्ताले औषधि व्यवस्था बिभाग बिजुलीबजार काठमाडौंमा दर्ता महाशाखा अन्तर्गत उद्योग दर्ता शाखामा भएको उक्त प्रा.लि.को नाम लेखेको दराजभित्र लुकाई छिपाई राखेको खैरो हेरोइन २२ ग्राम र डिजीटल तराजु १ थान समेत फेला परेको छ ।
साथै निजले काठमाडौं गौशालास्थित साउथ एसियन गेष्ट हाउसको कोठा नम्बर २०८ मा बस्दै गरेका बाँके नेपालगंज–८ रानीतलाउ बस्ने २२ वर्षीय प्रकाश जोशी, नेपालगंज–५ बस्ने २२ वर्षीय सद्दाम अन्सारी नेपालगंज–१० बस्ने ३२ वर्षीय बीरेन्द्र सिंहलाई लागूऔषध वेचेको भन्ने सूचनाको आधारमा निजहरुबाट लागूऔषध खैरो हेरोइन ९ ग्राम र नगद ६४ हजार सहित सोही गेष्टहाउसबाट बरामद गरी उनीहरुलाईसमेत प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका पाँचै जना उपर थप अनुसन्धान कार्य भइरहेको ब्यूरोले जनाएको छ ।

बुध, अशोज १२, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया