प्रस्तावीत राजदुत उपाध्याय र पौडेलको सुनुवाई


काठमाडौ,१२ असोज ।
संसदीय सुनुवाई विषेश समितिले भारत र चीनका लागि प्रस्तवित राजदुतको सुनुवाई गरेको छ । भारतका लागि प्रस्तवित राजदुत दीपकुमार उपाध्याय र चीनका लागि प्रस्तावित लिलामणी पौडेललाई सिंहदरबारस्थित समितिको कार्यलयमा बोलाई आज समितिले सोधपुछ गरेको हो ।

समिति सदस्यहरुको जिज्ञासामा उपाध्यायले आफूलाई केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारले बिना कसुर हटाएको बताउनु भएको छ । आफूले कुटनीति मर्यादा विपरीत कुनै काम नगरेको दावी गर्दै उपाध्यायले फेरि भारतका लागि सिफारिस भएर आफुले न्याय पाएको दावी गर्नुभयो ।

आफूमाथि चुनौति थप बढेको बताउदै उहाँले दुई देशको सम्बन्धलाई उचाईमा लैजान महत्वपूर्ण भूमिका खेल्ने प्रतिबद्धता समेत ब्यक्त गर्नु भएको छ । सुनुवाईको क्रममा एमाले सांसदहरुले अघिल्लो सरकारले असफल भनेर बोलाईएका राजदूतलाई फेरि सिफारिस गरिएको भन्दै आलोचना गरेका थिए ।

एमाले उपाध्यक्ष समेत रहेकी सांसद अष्टलक्ष्मी शाक्य, प्रमुख सचेतक भानुभक्त ढकाल लगायतले दुई देशबीचको कुटनीतिक सम्बन्ध सुधार गर्न नसक्ने उपाध्यायबाट आगामी दिनमा समेत राम्रो कामको अपेक्षा गर्न नसकिने उल्लेख गर्नुभयो ।

कांग्रेस सांसदहरुले भने भारतसँगको सम्बन्ध उपाध्यायको कार्यकालमा थप बलियो हुने बिश्वास सहित पुनः सिफारिस गरेको दावी गरेका थिए । उपाध्याय विरुद्ध परेको तीन ओटा उजुरी मध्ये सम्पर्कमा आएका एक जना उजुरीकर्तासँग समितिले सोधपुछ गरेको थियो ।

यस्तै चीनका लागि प्रस्तावित पूर्वमूख्य सचिव पौड्यालले चीनसँग नेपालले धेरै फाइदा लिन सक्ने बताउँदै राष्ट्रहीतका लागि आफ्नो भूमिका केन्द्रित गर्ने बताउनुभएको थियो । उहाँ बिरुद्ध भने कुनै उजुरी परेको थिएन ।

एमाले नेतृत्वको सरकारले चीनका लागि महेन्द्र बहादुर पाण्डेलाई सिफारिस गरेपनि राजदुतका लागि सिफारिस भएका विभिन्न १४ मुलुकको नाम फिर्ता लिदै सरकारले यस्तै चीनका लागि पूर्व मुख्यसचिव पौडेलको नाम सिफारिस गरेको हो ।

समितिमा कांग्रेस र नेकपा माओवादी केन्द्रका सांसदहरुको बहुमत भएकाले उनीहरुको नाम बहुमतले अनुमोदन हुने पक्का छ ।

बुध, अशोज १२, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया