धादिङमा भएको सवारी दुर्घटनामा १९ को मृत्यु ,घाईतेलाई काठमाण्डौ ल्याईयो (अपडेट)

धादिङ ,११ असोज ।
उत्तरी धादिङको मार्पाक गाविस ५ लपाङफेदीमा आज बिहान भएको बस दुर्घटनामा परि १९ जनाको मृत्यु भएको छ । १३ जना गम्भिर घाईते भएका छन् ।

धादिङबेसीबाट उत्तरी धादिङको किन्ताङफेदीतर्फ जाँदै गरेको बा ३ ख ३३ १८ नम्बरको यात्रुबहाक बस मार्पाकमा दुर्घटना भएको हो ।

दुर्घटनामा घाइते भएकामध्ये १३ जनालाई दुई चरणमा उपचारका लागि हेलिकोप्टरबाट काठमाडौैं ल्याइएको छ ।

नेपाली सेना र फिस्टेल एअरको हेलिकोप्टरबाट उनीहरुलाई मंगलबार दिउँसो काठमाडौं ल्याइएको हो । घाइतेलाई त्रिवि शिक्षण अस्पताल, महाराजगन्जमा राखिएको छ ।

घटनास्थलबाट उद्धार गरेर काठमाडौं ल्याउनेक्रममा एक महिलाको बाटोमै मृत्यु भएको बताइएको छ । उनको सनाखत हुन सकेको छैन । घाइतेमध्ये अधिकांशको अनुहार र हात खुट्टामा चोट लागेको छ ।

भूकम्पपीडितका लागि सरकारले दिएको पहिलो किस्ताको रकम लिएर जिल्ला सदरमुकाम धादिङबेसीबाट गाउँ फर्कंदै गरेकाहरु चढेको बस दुर्घटनामा परेको हो ।

क्षमताभन्दा बढी यात्रु चढेकाले बस दुर्घटना भएको हुनसक्ने प्रहरीको आशंका छ । घटनास्थल सदरमुकाम धादिङबेसीदेखि ३२ किलोमिटर टाढा छ

मङ्ल, अशोज ११, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...