भक्तपुर नेपाल कै पहिलो योग जिल्ला

भक्तपुर, १० असोज । भक्तपुरलाई नेपाल कै पहिलो योग जिल्लाको रुपमा घोषणा गरिएको छ । योग जिल्ला घोषणा मुुल समारोह समितिले सल्लाघारीमा आज गरेको कार्यक्रममा वन तथा भूसंरक्षण मन्त्री शंकर भण्डारीले भक्तपुरलाई योग जिल्ला घोषणा गर्नु भएको हो । योगको क्षेत्रमा कार्यरत पतञ्जली योग समिति भक्तपुर, मनोक्रान्ति योग साधना केन्द्र, ब्रह्मकुमारी राजयोग केन्द्र, ओशो ध्यान केन्द्र भक्तपुर, चरित्र निर्माण सङ्घ, शिवयोग साधना केन्द्र, मङ्गल योग तथा प्राकृतिक चिकित्सा उपचार केन्द्र, बाराही योग तथा प्राकृतिक चिकित्सालय, यशोधरा योग साधना केन्द्रको समन्वयमा योग जिल्ला घोषणा गरिएको हो ।
घोषणा कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले सरकारले नागरिकलाई स्वास्थ्य अधिकार उपलब्ध गराउन नसकि रहेका बेला योगाबाट नागरिकले स्वास्थ्यलाई निरोगी राख्न सहयोग पु¥याएको बताउनुभयो ।
उहाँले योगा र वन मानव जीवनको स्वस्थ्यताका लागि आबश्यक विषय भएकाले योगासँगै वन संरक्षणमा हरेक क्षेत्रका व्यक्तित्वले ध्यान दिनु पर्ने बताउनु भयो ।
मन्त्री भण्डारीले भक्तपुर कला, संस्कृति र सम्पदाको धनि जिल्ला रहेको उल्लेख गर्दै योग घोषणा जिल्लाका रुपमा पहिलो जिल्ला हुँदा थप सफलता हासिल गरेको बताउनु भयो ।
कार्यक्रममा मन्त्री भण्डारीले विभिन्न चार वटा पुस्तकहरु विमोचन गर्नु भएको थियो ।
भक्तपुर जिल्लाभित्र नौ वटा विभिन्न योग तथा ध्यानसँग सम्बन्धित संघसंस्थाले एक सय ५६ स्थानमा योग शिविर सञ्चालन गरिरहेको आयोजकले जनाएको छ । भक्तपुर जिल्लामा १० वर्षदेखि ७० वर्ष उमेर समूहका २ लाख ५० हजार ४ सय ३९ जनसंख्या मध्ये ५५ प्रतिशत नागरिक योगाभ्यासमा संलग्न रहेकोले योग जिल्ला घोषणा गरिएको आयोजकले जनाएको छ ।

सोम, अशोज १०, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया