माओवादी केन्द्रले कार्तिकमा राष्ट्रिय भेला बोलायो

काठमाडौ, १० असोज ।

सत्ता नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रले कात्तिक १० र ११ गते राष्ट्रिय भेला बोलाएको छ ।

पार्टी केन्द्रिय कार्यलय पेरिडाँडामा आज बिहान बसेको सचिवालय बैठकले कात्तिकमा राष्ट्रिय भेला बोलाउने निर्णय गरेको हो ।

पुसमा गर्ने भनिएको पार्टी महाधिवेशन नयाँ सरकार गठनसँगै स्थगित भएपछि भेला आयोजना गर्न लागिएको पार्टी प्रवक्ता पम्फा भुसालले जानकारी दिनु भयो । सो भेलाले पार्टीको नयाँ राजनीतिक कार्य्दिशा तय समेत गर्नेछ ।

भेलामा अध्यक्ष दाहालले पार्टीको नयाँ कार्य्दिशासहितको राजनीतिक प्रतिवेदन पेश गर्ने कार्यक्रम तय भएको छ । हालको जम्बो महाधिवेशन आयोजक समितिलाई नै कायम राख्ने कि नयाँ संरचना बनाउने भन्ने विषयमा पनि भेलाले निर्णय गर्ने प्रवक्ता भुसालले बताउनु भयो ।

हालको झण्डै २५ सय जनाको महाधिवेशन आयोजक समितिलाई घटाउन माओवादी केन्द्रभित्र दबाव छ ।

यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहालले अर्को महिना भारतमा हुने ब्रिक्स सम्मेलनपछि चिनियाँ राष्ट्रपति शीको नेपाल भ्रमणबारे निर्णय हुने जानकारी दिनु भएको छ ।

आज बिहान बसेको सचिवालय बैठकमा बोल्दै उहाँले ब्रिक्स सम्मेलनमा चिनीयाँ राष्ट्रपति सि जिनपिङसँगको भेटपछि नेपाल भ्रमणबारे ठोस निर्णय हुने बताउनु भयो ।

ब्रिक्स सम्मेलन अक्टोबर १५ र १६ तारिखमा भारतको गोवामा हुँदैछ । उक्त सम्मेलनका लागि भारतले बिमस्टेक देशहरुलाई समेत निम्तो दिएको छ ।

सोम, अशोज १०, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया