संघीयता अनुसारको प्रशासनिक पुन संरचना गर्ने तयारी : बुढाथोकी

काठमाडौं, ९ असोज । सामान्य प्रशासनमन्त्री केशबकुमार बुढाथोकीले मुलुक छिट्टै संघीयतामा जाने भएकाले सोही अनुसारको प्रशासनिक पुन संरचना गर्ने तयारी भैरहेको बताउनुभएको छ ।
खप्तडी बुढाथोकी क्षेत्री सेवा समाजले उहाँको सम्मानमा राजधानीमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री बुढाथोकीले मुलुक एकात्मक शासनबाट ब्यबहारीक रुपमै संघीयताको कार्यान्वयनमा जाँदा देशका करिब १ लाख कर्मचारीलाई केन्द्र, प्रान्त र गाऊ तथा नगरसम्म कसरी पुर्याउने भन्ने योजना निर्माणमा मन्त्रालय लागेको बताउनुभयो ।
उहाँले मन्त्रालयमा सुधारका लागि बिभिन्न आयोगले पेस गरेका प्रतिवेदन थन्किएर रहेका बताउँदै अब त ती प्रतिवेदन खोलेर राम्रा र प्रभावकारी योजना कार्यान्वयन गर्ने प्रतिबद्घता ब्यक्त गर्नुभयो ।
मन्त्री बुढाथोकीले स्टाफ कलेजलाई यसको उदेश्य अनुसार कर्मचारीको बिशुद्घ शैक्षिक केन्द्रकै रुपमा बिकास गर्ने बताउदै निजामति किताब खानामा रहेका कर्मचारीको बिवरणलाई ईन्टरनेटमा राख्ने र यसलाई ब्यबस्थित गर्ने तयारीमा मन्त्रालय लागेको बताउनुभयो ।
उहाँले कर्मचारीको स्वास्थ्य उपचारलाई लक्षित गरी खुलेको निजामति कर्मचारी अस्पतालमा नागरिकको चाप बढी भएको गुनासो आएको बताउँदै यसलाई कर्मचारीकै स्वास्थ्य उपचारमा केन्द्रीत गर्नेमा जोड दिनुभयो ।
सामान्य प्रशासन मन्त्रालय अहिले अस्तब्यस्त रहेको आफूले पाएको बताउँदै ती सबै चुनौतिलाई सामना गरेर सहि बाटोमा ल्याउन दिलो ज्यानले काम गर्ने बताउनुभयो ।
कार्यक्रमा राष्ट्रिय योजना आयोगका सदस्यका रुपमा हालै नियुक्त हुनु भएका डा. प्रभु बुढाथोकीलाई पनि सम्मान गरिएको थियो ।समाजका अध्यक्ष बिकेन्द्रदीप बुढाथोकीको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेकपा एमालेका नेता प्रकाश ज्वाला(बुढाथोकी), सम्मानित ब्यक्तित्व डा.बुढाथोकी, समाजका महासचिब डम्बर बुढाथोकी, उपमहासचिब पुष्करराज बुढाथोकी, समाजका सल्लाहकार नानीबाबु बुढाथोकी र हरिभक्त बुढाथोकी लगायतले समाज र सम्मानित ब्यक्तित्वका बारेमा चर्चा गर्नुभएको थियो ।

आइत, अशोज ९, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...

अन्य देश/राजनीति समाचार