नेपालको संविधान विश्वकै उत्कृष्ट संविधानः परराष्ट्रमन्त्री

काठमाडौ, ८ असोज ।
परराष्ट्रमन्त्री डा प्रकाशरण महतले संविधानसभाबाट जारी भएको नेपालको संविधान विश्वकै उत्कृष्ट र समावेशी संविधान भएको बताउनु भएको छ ।

न्युयोर्कमा जारी संयुक्त राष्ट्रसङ्घको ७१औँ महासभालाई आज सम्बोधन गर्दै उहाले संविधानको कार्यान्वयन मार्फत मुलुकलाई अगाडि बढाइने उल्लेख गर्नुभयो ।

विगतका द्वन्द्वरत पक्ष र शान्ति सम्झौताका हस्ताक्षर कर्ताबीच भएको पछिल्लो गठबन्धनले नेपालको शान्ति र संविधान निर्माण प्रक्रियाले गति लिएको तथा कार्यान्वयन पनि सहज रुपमा अगाडि बढ्ने धारणा राख्नुभयो ।

नेपालको संविधान कुन हदसम्म समावेशी छ भन्ने कुरा राज्यका पाँच महत्वपूर्ण पदमध्ये तीनवटामा महिला नै प्रमुख रहेकोबाट स्पष्ट हुने उहाँदे बताउनु भयो ।

उहाँले नेपालको शान्ति प्रक्रियामा संयुक्त राष्ट्र सङ्घको भूमिकाबारे प्रसंशा गर्नु हुदै शान्ति प्रक्रियाको पूर्णताको रुपमा गत वर्ष जारी भएको संविधानको कार्यान्वयनको पक्षमा लाग्न सम्बद्ध पक्षलाई आग्रह गर्नुभयो ।

महासभामा विभिन्न मुलुकका परराष्ट्रमन्त्री, कूटनीतिक नियोगका प्रमुख एवम् प्रतिनिधि, अमेरिकामा रहेका नेपाली समुदाय, उद्योगी व्यवसायीको सहभागिता रहेको थियो ।

यसअघि परराष्ट्रमन्त्री महतले हिजो राष्ट्रसंघका महासचिव वानकी मुनसँग भेट गर्नुभएको थियो । सो क्रममा उहाँहरुबीच संविधान कार्यन्वयन लगायतका विषयमा कुराकानी भएको थियो ।

अन्तिम समयमा प्रधानमन्त्री पुष्पकमल दाहालले अमेरिका भ्रमण रद्ध गर्नुभएपछि नेपाली टोलीको नेतृत्व गर्दै महत महासभामा भाग लिन न्युयोर्क जानु भएको थियो ।

शनि, अशोज ८, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...