दर्शन -व्यवहारवाद, अनुभववाद र श्रद्धावादबारे केही कुरा

श्रद्धावाद, व्यवहारवाद र अनुभववाद यी तीनवटै पदावलीहरु दर्शनसित अन्तरसम्बन्धित रहेका छन् र यी तीनवटै पदावलीहरु दर्शन अन्तरगत पनि माक्र्सवादी दर्शन विरोधी धारा अन्तरगत रहेका छन् । दर्शनका क्षेत्रमा यी तीनवटै पदावलीहरु आदर्शवादी धारा अन्तर्गत पर्दैछन् ।
श्रद्धावादः नेपाली शब्दकोषमा श्रद्धा भनेको देवी देवता वा मान्यजनप्रतिको आस्था, निष्ठा तथा भक्तिलाई जनाउने भन्ने उल्लेख गरिएको छ । यसै श्रद्धा पदावलीबाट श्रद्धावाद हुन गएको हो । यो चरम सामन्तवादी संस्कृति र चिन्तनको पराकाष्ठा हो । यसले आफूभन्दा माथिको व्यक्तिको बारेमा गुणगान गाउने, उसले कुनै गल्ती नै गर्दैन, गल्ती नै गरिहाले पनि उसले आलोचना वा विरोध गर्नु हुन्न भन्ने ईश्वरीय चिन्तनमा आधारित रहेको छ । देवी–देवता, राजा–महाराजा र ठूलाबढा एवम् मान्यजनहरुलाई पुजेर राख्नु पर्दछ, उनीहरुको विरोध र आलोचना गर्दा पाप लाग्दछ भन्ने ईश्वरीय चिन्तन प्रवृत्तिबाट श्रद्धावादको विकास हुन पुगेको हो ।
श्रद्धावाद व्यक्तिपूजासँग अन्तरसम्बन्धित रहँदै आएको छ । जस्तो कि कुनै वरिष्ठ नेता वा व्यक्तिको अन्धभक्ति, उसका गुणहरुको अतिशयोक्तिपूर्ण मूल्याङ्कन, ऐतिहासिक व्यक्तित्वको आवश्यकता भन्दा बढि सम्मान र प्रशंसा गर्ने कुरामा जोड दिने प्रवृत्ति नै व्यक्तिपूजावादी प्रवृत्ति हो । यो व्यक्तिवादको सबैभन्दा चरम रुप हो । व्यक्तिपूजावादी प्रवृत्तिको सैद्धान्तिक आधार आदर्शवादी र संकल्पवादी दृष्टिकोण हुन्छ । यसले व्यक्तिका नकारात्मक पक्षहरु लुकाउने, सकारात्मक पक्षहरु मात्रै देखाउन जोड दिने काम गर्दछ । जस्तो दश वर्षको जनयुद्धको प्रक्रिया अन्तर्गत नेकपा (माओवादी)ले तत्कालिन अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रचण्डपथको पगरी गुथाइ दिएको थियो र प्रचण्डका सबै नकारात्मक पक्षहरुलाई लुकाइ दिएर उनको गुणगान गाउने काम भएको थियो । त्यो श्रद्धावादी, व्यक्तिवादी पूजाको पराकाष्ठा थियो र देवत्वकरणको एक नमुना थियो । यसले व्यक्तिलाई तथाकथित ईश्वर बनाउने प्रवृत्तिको विकास गर्छ । पछि प्रचण्ड वैचारिक धरातलबाट विचलित भएर खस्दै गएर रुपान्तरण हुनै नसक्ने अवस्थामा पुगेपछि, २०६९ असर २ – ५ मा सम्पन्न नेकपा–माओवादीको बौद्ध भेलाले पारित गरेको राजनीतिक प्रतिवेदनमा तत्कालिन अवस्थामा प्रचण्डप्रति गरिएको श्रद्धावाद गल्ती थियो भनेर स्वीकार गरिएको छ । माओले व्यक्ति पूजा र पुस्तक पूजाको विरोध गर भनेर उर्दी समेत जारी गर्नुभएको थियो ।
इतिहासका निर्माता जनता हुन् भन्ने कुरा भुलेर इतिहासका वस्तुगत नियमहरुमाथि पर्दा हालेर महापुरुषले इतिहासको निर्माण गर्दछ भन्ने धारणा फैलाउनु व्यक्तिपूजाको मुख्य विशेषता हो । दस वर्षे जनयुद्धकालीन अवस्थामा प्रचण्डमाथि यही प्रवृत्ति र चिन्तन फैलाइएको थियो तर समयक्रममा त्यो गलत साबित हुन गयो । श्रद्धावादको सम्बन्ध आदर्शवादी बुद्धिवाद र अनुभववादसित रहेको हुन्छ । बृद्धिवादले वस्तुगत जगतलाई ज्ञानको भरपर्दो र मुख्य श्रोत मान्दैन । ज्ञान सिद्धान्तका दुई हांगा हुन्– ती हुन् बुद्धिवाद र अनुभववाद । बुद्धिवाद र अनुभववाद आदर्शवादी र भौतिकवादी दुवै हुन्छन् । बुद्धिवादी ज्ञान सिद्धान्तअनुसार आत्मपरक चेतना नै ज्ञानको भरपर्दो स्रोत हो । जडसूत्रवादको जन्म पनि बुद्धिवादबाट नै हुन्छ । कम्युनिस्ट पार्टीभित्रका श्रद्धावादीहरुले सर्वहारा वर्गको क्रान्तिकारी चरित्र अनुरुप अगाडि बढ्न चाहँदैनन् र क्रान्तिकारीहरुको एकतामा फुट पारी अवसरवादी तत्वहरुको हितलाई जोगाई राख्न खोज्दछन् । यिनले दिमागमा आदर्शवादी दर्शनलाई लुकाएर मुखले माक्र्सवादी दर्शन वा क्रान्तिकारी विचारधाराको वकालत गर्दछन् । श्रद्धावादले अवैज्ञानिक र झुट कुराहरुलाई फल्नफूल्न दिइ जोगाएर राख्छन् । श्रद्धावादले ग्रस्त मानिसहरु यस्ता हुन्छन्, जसमा द्वन्द्वात्मक ढंगले होइन यान्त्रिक ढंगले सोच्ने र माक्र्सवादी–लेनिनवादी–माओवादी सिद्धान्तलाई किताबी सूत्रको रुपमा सम्झने प्रवृत्ति देखाउँछन् । श्रद्धावादीहरु व्यक्तिवादी र अन्तमा तानाशाही बन्न पुग्दछन्, उनीहरुबाट संगठन सम्बन्धी माक्र्सवादी परिवेश अर्थात् जनवादी केन्द्रीयता र आलोचना, आत्मालोचना गर्ने प्रक्रियाबाट क्रमशः लोप हुँदै जान्छन् । उनीहरु भ्रष्ट बन्दै जाने या ज्यादै निराश तथा पलायनवादी भएर हराउन सक्छन् ।
श्रद्धावादले कम्युनिस्ट पार्टी तथा क्रान्तिलाई समेत ठूलो धोका दिन्छ र क्षति पु¥याउँछ र जो कि जनयुद्धको प्रक्रियाअन्तर्गत नेकपा (माओवादी) भित्र प्रचण्डमाथि श्रद्धावादको प्रयोग जुन गरियो त्यसले नेपाली कम्युनिस्ट आन्दोलन र नेपाली क्रान्तिलाई गम्भीर प्रकारको क्षति पुग्न गएको यर्थाथता हाम्रासामु जिवितै छ ।
व्यवहारवाद दर्शनका क्षेत्रमा प्रयोग हुने गरेको चर्चित पदावली हो । दर्शनको क्षेत्रमा व्यवहार पदावलीको विशेष अर्थ र महत्व हुन्छ । माक्र्सवादले व्यवहारलाई ज्ञानको स्रोत र कसौटी मान्दछ । क. माओले ‘व्यवहारबारे’ शीर्षकमा एउटा महत्वपूर्ण दार्शनिक निबन्ध पनि लेख्नु भएको छ तर व्यवहारवाद माक्र्सवादी ज्ञानसिद्धान्तको विपरीत ध्रुवमा खडा भएको छ । यहाँनेर बुझ्नु पर्ने वास्तविक कुरा के हो भने व्यवहार र व्यवहारावादबारे ठूलो अन्तर छ ।
व्यवहारवाद उसको सारतत्वमा आदर्शवादको एउटा विशिष्ट रुप हो । दार्शनिक फाँटमा व्यवहारवादका मुख्य प्रवर्तक अमेरिकी चिन्तक विलियम जेम्स हुन् । व्यवहारवादलाई अँग्रेजीमा प्राग्म्याजिटिज्म अर्थात व्यवहारिक क्रियाकलापको दर्शन भनिन्छ । कतिपय विचारकहरुले यसलाई प्रयोजनवाद पनि भन्ने गर्दछन् । व्यवहारवादले सिद्धान्तको महत्वलाई अस्वीकार गर्दछ र केवल व्यवहारमा मात्र जोड दिन्छ । सारतः यसले आदर्शवादप्रतिकै पक्षधरतामा जोड दिन्छ । व्यवहारवादले भन्ने गरेको व्यवहार वस्तुगत अर्थात् नभई मनोगत अनुभव हो । व्यवहारवादी मान्यता अनुसार सत्यको कसौटी व्यवहार होइन, उपयोगिता हो । व्यवहारवादी दर्शनका अनुसार जुन वस्तु उपयोगी छ, त्यो सत्य हुन्छ, जुन वस्तु सत्य छ त्यो उपयोगी हुन्छ । व्यवहारवादी दर्शन अनुसार सत्यको कसौटी व्यवहार होइन भन्ने मान्दछ । व्यवहारवादले व्यक्तिवाद र उदारवादको पक्षपोषण गर्दछ । यो जनताको जनवाद, समाजवाद एवम् साम्यवादको पूर्णविरोधी रहेको छ । व्यवहारवादीहरुका दृष्टिमा समाजवादलाई बदल्न सकिँदैन भन्ने मान्यता रहँदै आएको छ । किनकि उनीहरुका लागि यो संसार, जीवन र जगत सबै अज्ञेय छन्, संसार, समाज र त्यसका नियमहरु बोधगम्य छैनन् भन्ने दृष्टिकोण व्यवहारवादीहरुले राख्ने गर्दछन् । बाबुराम भट्टराई यही चिन्तिनबाट विचलित हुँदै माक्र्सवाद परित्याग गर्न पुगेको दृष्टान्त हामीसितै छ ।
यहाँनेर बुझ्नु पर्ने कुर के हो भने व्यवहारवाद पुँजीवादी दर्शनको एउटा रुप हो । दक्षिणपन्थी संशोधनवादीहरु, सुधारवादीहरु र वर्गसमन्वयवादीहरुले माक्र्सवादी सिद्धान्तलाई जडसूत्रवाद र त्यसको पक्षपोषण गर्ने क्रान्तिकारी कम्युनिस्टहरु माथि जडसूत्रवादी भएको आरोप लगाउने गर्दछन् । उनीहरुले माक्र्सवाद–लेनिनवाद–माओवाद वर्गसंघर्ष, सर्वहारावर्गको अधिनायकत्व सशस्त्र संघर्ष आदि विषयको सैद्धान्तिक महत्वको कुरालाई निस्तेज पार्दै लैजान्छन् । त्यही व्यवहारवादी चिन्तन प्रवृत्तिले नै बाबुरामलाई नयाँ शक्तिमा पु¥याएको घटनाक्रमहरु ताजै छ । यो प्रवृत्ति र चिन्तन अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन र स्वयम् नेपाली कम्युनिस्ट आन्दोलनमा प्रभावी बन्दै आएको छ ।
माक्र्सवादी मान्यता अनुसार सिद्धान्त र व्यवहार दुवैको विशिष्ट अर्थ छ । समग्रतामा ज्ञान सिद्धान्त व्यवहार र सिद्धान्तको द्वन्द्वात्मक एकत्वमा आधारित रहेको हुन्छ । व्यवहारवाद माक्र्सवादी ज्ञान सिद्धान्तको पुरै विरोधी रहेको छ । ज्ञान सिद्धान्तको क्षेत्रमा सिद्धान्तलाई जडसूत्र र व्यवहारलाई मनोगत क्रियाकलापको अर्थमा ग्रहण गर्नु नितान्त लगत र अवैज्ञानिक चिन्तन हो र सच्चा माक्र्सवादी कम्युनिस्ट क्रान्तिकारीहरु जडसूत्रवाद र व्यवहारवाद दुवैका विरोधी हुन्छन् । माक्र्सवादी क्रान्तिकारीहरुले यसको डटेर विरोध गर्नु पर्दछ ।
अतः नेपालमा नयाँ जनवादी क्रान्ति सम्पन्न गर्दै समाजवाद र साम्यवादको गन्तव्यतर्फ अगाडि बढ्न महान ऐतिहासिक कार्यभार पूरा गर्नका लागि हामी माओवादी क्रान्तिकारीहरुले दर्शनको क्षेत्रमा व्यवहारवादको विरोध र द्वन्द्वात्मक भौतिकवादको दृढतापूर्वक पक्षपोषण गर्न जरुरी छ । नेपाली क्रान्तिको यो द्वन्द्ववादलाई गरिहो गरी हृदयङ्गम नगरी हामीले महान् नेपाली क्रान्तिको ऐतिहासिक कार्यभार पूरा गर्न सक्तैनौं ।
अनुभववाद ज्ञानसिद्धान्तको एउटा धारा हो । यसले इन्द्रियजन्य ज्ञानलाई नै ज्ञानको एक मात्र स्रोत मान्दछ र इन्द्रियजन्य ज्ञानको विवेकजन्य ज्ञानमा रुपान्तरण हुने र त्यसलाई व्यवहारद्वारा पुष्टि गर्नुपर्ने आवश्यकतालाई अस्वीकार गर्दछ । यसले सम्पूर्ण ज्ञान अनुभवमाथि निर्भर गर्दछ भन्ने मान्दछ । आदर्शवादी अनुभववाद, जसलाई अतर्कबुद्धिवाद पनि भन्दछन् । यसका प्रवक्ता मुख्यत बन्कले र ह्युम हुन् । उनीहरुका दृष्टिमा ज्ञानको स्रोत अनुभव हो ।
अनुभववाद यान्त्रिक भौत्तिकवादी त्रान सिद्धान्तसीत अन्तरसम्बन्धित छ । यान्त्रिकभौतिक अनुभववादीहरु अनुभवलाई ज्ञानको अन्य आधार मान्दछन् अनुभववादको विकसित रुप व्यवहारवाद हो । अनुभववादमा अन्धनक्कल वा यान्त्रिक अनुकरणको चिन्तन पनि पाइन्छ । अनुभववाद वा व्यवहारवादले संशोधनवादी वा पुँजीवादी विचार र सिद्धान्तहरुको भद्धा अनुकरण गर्दछ ।
अनुभववादको विकृतिको रुपमा कम्युनिस्ट आन्दोलनमा श्रद्धावाद र शंकावाद प्रकट हुने गर्दछ । श्रद्धावाद अतिविश्वास वा अन्धविश्वासमा आधारित रही आस्थावादी बन्न पुग्दछ । अन्ततः यसको क्रमशः नियतिवाद र अज्ञेयवादमा पतन हुन् पुग्दछ । अनुभववादका कमजोरीहरु हुन्– इन्द्रियजन्य समवेदन र अनुभवको भूमिकालाई एकपक्षीय रुपले अतिरञ्जित पारेर पेश गर्नु, वैज्ञानिक अवधारणा र सिद्धान्तको भूमिकाको अवमूल्यन गर्नु, चिन्तनको सक्रिय भूमिकालाई नकार्नु र एक पटक अनुभव गरेको कुरा सबै परिस्थिति, सबै अवस्था र जनुसुकै बेलामा पनि लागू हुन्छ भनेर जोड गर्नु तथा ठोस परिस्थितिको ठोस विश्लेषणको आवश्यकतालाई नकार्नु हो । अनुभववादको शाब्दिक अर्थ हो– इन्द्रियजन्य ज्ञान र संवेदनालाई सबैथोक मान्नु र सिद्धान्तको महत्व अस्वीकार गर्नु ।
यही श्रद्धावाद, व्यवहारवाद र अनुभववाद पनि नेपाली कम्युनिस्ट आन्दोलनको एक कालखण्डमा प्रचण्ड–बाबुराममा सैद्धान्तिक विचलन पैदा भएर नवसंशोधनवादमा पतन हुने कारकतत्व बन्न पुग्यो । अन्य क्रान्तिकारीहरुले यसबाट पाठ सिक्न जरुरी छ ।

शुक्र, अशोज ७, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया