कार्यकर्ताबिरुद्ध भएको कारवाही ‘निरंकुश’ : वैद्य


७ असोज, काठमाडौं ।

मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीका केन्द्रीय सचिवालय सदस्य तथा नेवा राज्य संयोजक दिनेश शर्मासहित १५ जना नेता कार्यकर्ता पक्राउ परेका छन् ।

पार्टीले आयोजना गरेको शान्तिपूर्ण प्रदर्शनका क्रममा सुन्धाराबाट शर्मासहित, नेताहरु पवन श्रेष्ठ, हरिकृष्ण गुजुरेल, शारदा महत, जय दाहाल लगायतलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

यसअघि पक्राउ परेका आफ्ना कार्यकर्ताको रिहाईका लागि दबाब दिने उदेश्यले वैद्य माओवादीले आज विहान १० बजेदेखि ११ बजेसम्म काठमाडौंमा चक्काजाम आह्वान गरेको थियो ।

यसैबीच ,क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले भने आफ्ना कार्यकर्ताबिरुद्ध भएको कारवाहीलाई ‘निरंकुश’ संज्ञा दिनुभएको छ ।

उहाले प्रहरी र सरकारको ‘निरंकुश कारबाही’को घोर भत्सना गर्दै गिरफ्तार नेता कार्यकर्ताको अविलम्ब रिहाइको माग गर्नुभएको छ ।

नेता कार्यकर्ताहरुको गिरफ्तारी लगत्तै विज्ञप्ती जारी गरि चन्दा संकलनको बहानामा पार्टीका कार्यकर्तालाई पक्राउ गरि जिल्ला अदालतमा चन्दा असुली मुद्दा लगाएर म्याद थप गरिएको भन्दै त्यसको बिरोध गर्नुभएके छ ।

विज्ञप्तीमा भनिएको छ , सरकार र प्रहरीको यो निरङ्कुश कारबाहीको हाम्रो पार्टी घोर भत्र्सना गर्दछ र गिरफ्तार हुनुभएका सम्पूर्ण साथीहरुलाई अविलम्व रिहाइको माग गर्दछ ।’

चन्दा संकलन गरिरहेको अवस्थामा पक्राउ परेका कार्यकर्ताको रिहाईका लागि दबाब दिने उद्देश्यले आज राजधानीमा चक्का जाम गर्न खोज्दा माओवादी क्रान्तिकारीका थप कार्यकर्ता पक्राउ परेका हुन् ।

शुक्र, अशोज ७, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया