गैरसरकारी संस्थाले सेवाको नाममा भ्रम छर्दै छन् : प्रम

काठमाडौं, असोज ६ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले समाज सेवाका नामका पायक पर्ने शहर तथा तारे होटलमा कार्यक्रम गरि प्रतिवेदन तयार गर्ने गरेका कारण गैरसरकारी संस्थाका गतिविधिको प्रभावकारीतामाथि प्रश्नचिन्ह खडा भएको बताउनु भएको छ ।

समाज कल्याण परिषद्ले ३७ औं सामाजिक सेवा दिवसको अवसरमा गरेको कार्यक्रममा प्रधानमन्त्रीले नेपालमा हजारौं गैरसरकारी संस्थाले दर्ताका बेला समाज सेवा गर्ने बताए पनि व्यवहारमा फरक काम गर्ने गुनासो बढिरहेको बताउनु भयो ।

काठमाण्डौका तारे होटल तथा उपत्यका बाहिर पायक पर्ने शहरमा कार्यक्रम गर्ने गरेको गुनासो आउने गरेको भन्दै उहाले समाज सेवा पहिलो र रोजगारी दोस्रो स्थानमा राखेर गैरसरकारी संस्थाले काम गरे मात्रै उनीहरुको कामप्रति विश्वास गर्न सकिने बताउनु भयो ।

प्रधानमन्त्री दाहालले नेपालमा कार्यरत गैरसरकारी संस्थाका गतिविधि तथा उनीहरुले सञ्चालन गर्ने कामको प्रभावकारी अनुगमन गर्न समाज कल्याण परिषद्लाई निर्देशन पनि दिनुभएके छ ।

देशका विकट क्षेत्र र समुदायका जनताको हितमा हुने गरी काम गर्ने बाचासहित दर्ता भएका गैरसरकारी संस्थालाई पारदर्शी तथा उत्तरदायी भएर काम गर्न समेत निर्देशन दिनुभयो ।

उहाले कर्मचारीलाई आफ्नो कार्यशैली र व्यवहारमा परिवर्तन गरी समाजप्रति उत्तरदायी भएर काम गर्न आग्रह गर्नुभएके छ ।

अर्को एक प्रसंगमा प्रधानमन्त्री दाहालले उच्च अदालत नियमावली संसद्बाट पारित गराएर संघीयता कार्यान्वयनमा ल्याइएको बताउनु भयो ।

त्यस अवसरमा समाज कल्याणपरिषद्मा २५ वर्ष काम गरेका केही कर्मचारीलाई प्रधानमन्त्री दाहालले परिषद्का तर्फबाट दीर्घसेवा पटकबाट सम्मानित गर्नुभएको थियो ।

हाल समाज कल्याण परिषद्मा मात्रै दर्ता भएर ४३ हजारभन्दा बढी गैरसरकारी संस्था नेपालमा कार्यरत रहेको परिषद्ले जनाएको छ । उपत्यका बाहिर जिल्ला प्रशासन कार्यालयमा दर्ता भएका गैरसरकारी संस्थाहरुको संख्या पनि हजारौं छ ।

बिहि, अशोज ६, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...