आज अन्तर्राष्ट्रिय शान्ति दिवस मनाइँदै

santiकाठमाडौं, ५ असोज । अन्तर्राष्ट्रिय शान्ति दिवस आज नेपालमा पनि मनाइँदैछ । शान्ति तथा पुनःनिर्माण मन्त्रालयद्वारा अन्तर्रा्ष्ट्रिय शान्ति दिवसका अवसरमा आज प्रभातफेरी गरियो । रत्नपार्कस्थित शान्तिबाटिकाबाट सुरु भएको प्रभातफेरी बागबजार, पुतलीसडक, रामशाह पथ भएर प्रदर्शनीमार्गमा पुगी सम्पन्न भएको थियो ।
शान्ति तथा पुनःनिर्माण मन्त्री सीतादेवी यादवले प्रभातफेरीको शुभारम्भ गर्दै मुलुकमा लामो समयसम्म चलेको द्वन्द्व व्यवस्थापनका लागि मन्त्रालय सक्रिय रहेको बताउनुभयो । उहाँले द्वन्द्वपीडितलाई सामाजिक न्याय दिन नसकिए शान्ति प्रक्रिया सफल भएको मान्न नसकिने विचार व्यक्त गर्नुभयो । ‘दिगो शान्ति ः राष्ट्र विकासको आधार’ भन्ने नाराका साथ दिवस मनाइँदै छ । मन्त्रालयद्वारा आजै पाँचथर, सिरहा, सिन्धुपाल्चोक, गोर्खा, कैलाली, बाँके र सुर्खेतलाई स्थानीय शान्ति समिति सम्मान प्रदान गरिँदैछ ।
संयुक्त राष्ट्रसंघको आह्वानमा हरेक वर्ष सेप्टेम्बर २१ तारिखमा यो दिवस मनाउने गरिएको छ । राष्ट्रसंघको ५६ औँ वार्षिक साधारणसभाले प्रस्ताव पारित गरी विश्वव्यापी रुपमा हिंसा र युद्धको समाप्तिको दिनको रुपमा आजको दिनलाई अन्तर्राष्ट्रिय शान्ति दिवसको रुपमा मनाउने घोषणा गरेपछि नेपालले २०६५ सालदेखि यो दिवस मनाउन थालेको हो । १० वर्षे सशस्त्र द्वन्द्वको अन्त्य र शान्ति प्रक्रियाको संस्थागत सुरुवात भएको खुसियालीमा नेपालमा शान्ति दिवस मनाउन थालिएको हो ।

बुध, अशोज ५, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया