शंकास्पद बस्तु राखी आतंक फैलाउने २ जना सार्वजनिक

काठमाण्डौ, ४ असोज । राजधानीका विभिन्न विद्यालयमा बम बिष्फोट गराउने तथा शंकास्पद बस्तु राखी आतंक फैलाउने कार्यमा संलग्न २ जनालाई प्रहरीले आज सार्वजनिक गरेको छ ।

महानगरीय प्रहरी परिसरले साँझ पत्रकार सम्मेलन गरी घटनामा संलग्न रामेछाप दिमिपोखरी ६ का ३१ वर्षीय शंकर लाखे र सिन्धुली लाम्पाङटार ६ का २४ वर्षीय चन्द्रबहादुर तामाङलाई सार्वजनिक गरेको हो ।

उनीहरुलाई बौद्धस्थित डेराबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । उनीहरु माओवादी कम्युनिष्ट केन्द्रको भ्रातृ संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी केन्द्र र योङग कम्युनिष्ट फोर्समा आवद्ध भएको एआइजी प्रतापसिंह थापाले जानकारी दिनुभयो ।

उनीहरुले आज विहान गोकर्णेश्वर नगरपालिका दक्षिण ढोकास्थित आकाशद्वीप बोर्डिङ स्कुल र मनकामना उच्च माबिमा ग्यास सिलिण्डर बम तथा डल्लुस्थित कञ्चनजंघा इन्टिग्रेटेड इङ्लीस स्कुलको गेटमा प्रेस कुकर बम बिष्फोट गराएका थिए ।

यस्तै, अन्य ९ विद्यालयमा पनि फेला परेको बम नेपाली सेनाको डिस्पोजल टोलीले डिष्पोज गरेको थियो । विद्यालय समय सुरु हुनु आगाडी नै बम रहेको थाहा पाएपछि मानवीय क्षति भने नभएको महानगरीय प्रहरी परिषरले जनाएको छ ।

यसैविच राष्ट्रिय मानव अधिकार आयोगले विभिन्न विद्यालयमा आज भएको बिस्फोटको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै दोषीमाथि कडा कारवाही गर्न सरकारसँग आग्रह गरेको छ ।

बालबालिकाले सुरक्षित र शान्तिपूर्ण वातावरणमा पढ्न पाउने अधिकार तथा स्वतन्त्रता र सुरक्षाको अधिकार समेत उल्लंघन भएको भन्दै आयोगले घटनाको सत्य तथ्य छानविन गरी दोषीलाई कानुनी दायरामा ल्याउन सरकारको ध्यानाकर्षण गराएको हो ।

आयोगले आज विज्ञप्ती जारी गर्दै सबै राजनीतिक दलहरुलाई आफ्ना प्रतिवद्धता पूर्णरुपमा कार्यान्वयन गर्न जिम्मेवार भई बालबालिका तथा विद्यालय शान्ति क्षेत्र हुन् भन्ने विषयलाई आत्मसात गर्न समेत आग्रह गरेको छ ।

यस्तै आगामी दिनमा यस्ता घटना हुन नदिने तर्फ सचेत रहन आयोगले सम्बन्धित सबै पक्ष, राजनीतिक दल तथा भ्रातृ सगंठनहरुलाई पनि भनेको छ । यस्तै सो घटनाप्रति युनिसेफले पनि भत्र्सना गरेको छ ।

मङ्ल, अशोज ४, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...

अन्य प्रमुख खबर समाचार

Like us On Facebook

Follow Us On Twitter