प्रधानमन्त्रीले रेशम चौधरीसँग भेटेकोबारे स्पष्ठ पार्न एमालेको माग

काठमाडौं, असोज ४ ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले नेपालको संविधान संशोधनको विषय नेपाल–भारत संयुक्त विज्ञप्तिमा उल्लेख गरिएकोप्रति गम्भीर आपत्ति जनाएको छ ।

पार्टी कार्यलय धुम्बाराहिमा आज बसेको एमाले स्थाई समितिको बैठकले नेपालको आन्तरिक मामलामा भारतलाई गुहार्नु गलत भएको निश्कर्ष निकालेको हो ।

नेपालका परियोजना अनुगमनका विषयमा भारतीय दूतावासका कर्मचारी र नेपाल सरकारालाई एउटै हैसियतमा राख्नु दुःखद भएको बैठकले निश्कर्ष निकालेको एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिनुभयो ।

यस्तै , एमालेले प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमणकाक्रममा कैलालीको टीकापुर घटनाका ‘मुख्य योजनाकार’ रेशम चौधरीलाई भेटेकोबारे स्पष्ठ पार्न माग गरेको छ ।

चौधरी प्रहरीको ‘अत्याधिक खोजीको सूची’मा रहेको र उनलाई ‘सरकार प्रमुखले सुरक्षा निकायका प्रतिनिधिसमेतको उपस्थितिमा भेट्ेर कानुनकै धज्जी उडाएको एमालेको ठहर छ ।

चौधरी दुई वर्षका बालकसहित ८ प्रहरीको मृत्यु हुने गरी गत वर्ष भदौ ७ गते भएको घटनाका मुख्य योजनाकार मानिएका छन् ।

बैठकले आज राजधानीका विभिन्न विद्यालयमा गराइएको बम विस्फोटको घटनाको विरोध गर्दै दोषीलाई पक्राउ गरी कारबाही गर्न माग पनि गरेको छ ।

आजको बैठकमा भोलीदेखि सुरु हुने केन्द्रिय कमिटि बैठकमा प्रस्तुत हुने पार्टी अध्यक्ष केपि ओलीको राजनितिक प्रतिवेदन माथि पनि छलफल भएको थियो ।

मङ्ल, अशोज ४, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया