चाडबाडलाई लक्षित गरी मापसे जाँचमा कडाइ

काठमाडौ ४ असोज ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले दसैँ, तिहार, छठ लगायतका ठूला चाडलाई लक्षित गरी मादक पदार्थ सेवन मापसे जाँचलाई कडाइ गर्ने भएको छ ।

चाडबाडका समयमा मापसे गरेर सवारी चलाउदा दुर्घटनामा वृद्धि हुने भन्दै ट्राफिक प्रहरीले त्यसमा कडाई गर्ने भएको हो ।

मापसेका कारण चाडबाडमा लापरवाहीपूर्वक सवारी साधन चलाउदा धेरै दुुर्घटना हुनसक्ने भन्दै त्यसको नियन्त्रणका लागि मापसे जाँचमा कडाई गर्ने निर्णय भएको महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक मिलन बस्नेतले बताउनु भयो ।

महाशाखाले सवारीसाधनले बढी भाडा लिने, क्षमताभन्दा बढी यात्रु हाल्ने, एकै सिटमा दोहोरो टिकट काटिदिने जस्ता अनियमितता रोक्न काठमाडौं उपत्यका भित्रिने तथा बाहिरिने नाकामा विशेष जाँचको व्यवस्था मिलाएको जनाएको छ ।

यस्तै काठमाडौं उपत्यकामा सवारी साधनमा धेरै भिडभाड नहोस् भन्ने उद्देश्यले नयाँ बसपार्क, पुरानो बसपार्क, कलङ्की, कोटेश्वर, गौशाला, बल्खु, एयरपोर्ट, सुन्धारा, नागढुङ्गा, जोरपाटी, माछापोखरी, सातदोबाटो लगायत मुख्य स्थानमा नागरिक सहायता कक्ष राख्ने तयारी भएको बस्नेतले बताउनु भयो ।

मङ्ल, अशोज ४, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...