उपत्यकाका विभिन्न निजी विद्यालयमा बम फेला


काठमाडौ ४ असोज ।
काठमाडौ उपत्यकाका विभिन्न निजी विद्यालयहरुमा आज विहानै बम फेला परेको छ । केही विद्यालयहरुमा राखिएको बम बिस्फोट भएको महानगरीय प्रहरी परिषर काठमाडौंले जनाएको छ । विद्यालय समय सुरु हुनु पूर्व नै बिस्फोट भएकाले मानवीय क्षति भने हुन सकेन ।

राजधानीको दक्षिण ढोकास्थित आकाशद्वीप बोर्डिङ स्कुल र मनकामना उच्च माबिमा बिहान पौने ४ बजे सिलिण्डर बम बिष्फोट भएको काठमाडौं प्रहरी प्रमुख एसएसपी बिक्रम सिंह थापाले जानकारी दिनुभयो ।

त्यसको केही समयपछि नै डल्लुस्थित कञ्चनजंघा इन्टिग्रेटेड इङ्लीस स्कुलको गेटमा समेत प्रेस कुकर बम बिष्फोट भएको थियो । यस्तै गोकर्णेश्वर नगरपालिकामा रहेका बिभिन्न विद्यालयमा समेत शंकास्पद बस्तु भेटिएको प्रहरीले जनाएको छ ।

काठमाडौं प्रहरीका अनुसार दक्षिणढोकास्थित मनकामना बोर्डिङ स्कूल, जोरपाटी नारायणथानमा रहेको राइ ईङलीस स्कुल, माउण्ट युवराल टिचिङ एकेडेमी र ईष्ट पोल स्कुलमा समेत शंकास्पद बस्तु भेटिएको छ ।

ईष्ट पोल स्कुलको गेटमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी केन्द्र र योङ कम्युनिष्ट फोर्स केन्द्र केन्द्रीय समितिको नाममा पर्चा भेटिएका छन् ।

यस्तै गोकर्णेश्वर नगरपालिका १४ मा रहेको बाल संसार एकेडेमीमा एक लिटरको प्रेसर कुकर बम भेटिएको छ भने सोही नगरपालिकाको वडा नम्बर १२ मा रहेको लामा पेट्रोल पम्प अगाडि समेत शंकास्पद बस्तु भेटिएको छ ।

यस्तै ललितपुरको सानेपास्थित रेडियन्ट रिडर्स एकेडेमीमा प्रेसर कुकर बम फेला परेको प्रहरीले जनाएको छ । आज बिहान साढे ५ बजे स्कूलमा बम रहेको खबर पाएपछि नेपाली सेनाको बम डिस्पोजल टोली खटाएको प्रहरी प्रभाग सानेपाले जनाएको छ ।

अहिले त्यस क्षेत्रलाई सुरक्षा घेरामा रोखेको छ भने सानेपमा आसपासमा गाडी र सर्वसाधरणलाई प्रवेशमा रोक लगाइएको प्रहरी प्रभाग सानेपाका प्रहरी निरीक्षक रामकृष्ण सापकोटाले जानकारी दिनुभयो ।

यसैबीच विद्यालयमा बम आतंक गरेको आशंकामा २ जनालाई काठमाडौं प्रहरीले पक्राउ गरेको छ । योङ कम्युनिस्ट फोर्स नेपालका दुई जना कार्यकर्ता पक्राउ गरिएको एसएसपी थापाले बताउनु भयो । अनुसन्धान जारी रहेका कारण प्रहरीले उनीहरुको नाम सार्वजनिक गरेको छैन् ।

मङ्ल, अशोज ४, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया