आज पहिलो संविधान दिवस, सरकारद्धारा विषेश समारोहको आयोजना

काठमाडौ ३ असोज । 

आज नेपालको संविधान जारी भएको दिन, सरकारी तथा नागरिक स्तरबाट विभिन्न कार्यक्रमको आयोजना गरी पहिलो संविधान दिवस मनाइदैछ । दिवसलाई राष्ट्रिय पर्वका रुपमा मनाउन सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

एक वर्षअघि २०७२ साल असोज ३ गते जननिर्वाचित संविधान सभाबाट नेपालको संविधान जारी भएको थियो । दिवसका अवसरमा सरकारले आज राजधानीको सैनिक मन्चमा विषेश कार्यक्रमको आयोजना गरेको छ ।

केहिबेरपछि सुरु हुनेमा समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री, मन्त्रीहरु, प्रधानसेनापति, संवैधानिक निकायका प्रमुख, कुटनीतिक नियोग प्रमुख, राजनितिक दलका प्रमुख लगायत सरकारका विशिष्ट व्यक्तित्वको उपस्थिति रहनेछ ।

यसैगरी प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले छुट्टै कार्यक्रमको आयोजना गरी पहिलो संविधान दिवस मनाउदै छन् । सरकारले संविधान विरोधी मोर्चासँग सहकार्य गर्दै संविधान कार्यान्वयन रोक्ने योजनाका साथ अघि बढ्न थालेको भन्दै छुट्टै तवरले संविधान दिवस मनाउन लागेको एमालेले जनाएको छ ।

संविधानको रक्षा र कार्यान्वयनमा दबाब दिन आज दिउँसो २ बजे बसन्तपुरमा जनसभाको आयोजना गरिएको एमालेका सचिव तथा प्रचारविभाग प्रमुख योगेश भट्टराईले जानकारी दिनुभयो ।

सभाअघि दिउँसो १ बजे रत्नपार्कस्थित शान्तिबाटिकाबाट र्याली निकालिने एमालेले जनाएको छ । सभालाई पूर्वप्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नुहुनेछ ।

यसैबीच संविधानप्रति असन्तुष्ट मधेशी मोर्चासहितको गठबन्धनले आज कालो दिनका रुपमा मनाउने तयारी गरेको छ । आफूहरुको माग संविधानले समेट्न नसकेको भन्दै पहिलो संविधान दिवसलाई कालो दिनका रुपमा रुपमा मनाउन लागेको गठबन्धनले जनाएको छ ।

नयाँ संविधान त्रुटिपूर्ण र प्रतिगामी रहेकाले पुनरलेखनको माग गर्दै गठबन्धनले आज राजधानीको शान्ति वाटिकामा कालो दिवसका रुपमा स्मरण गर्ने तयारी भएको मोर्चा आवद्ध दल सद्भावना पार्टीका महासचिव मनिषकुमार सुमनले जानकारी दिनुभयो ।

यता गृहमन्त्रालयले मोर्चाले आज गर्न सक्ने सम्भावित प्रदर्शनलाई मध्यनजर गर्दै सुरक्षा सजकता अपनाउन मुलुकभरका जिल्ला प्रशासन कार्यलयहरुलाई निर्देशन दिएको छ ।

सोम, अशोज ३, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य प्रमुख खबर समाचार

Like us On Facebook

Follow Us On Twitter