प्रधानमन्त्रीको भारत भ्रमणले दुईदेशको सम्बन्धमा नयाँ उचाई थप्यो :परराष्ट्रमन्त्री

काठमाण्डौ ,१ असोज ।

परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणले दुई देशबीचको सम्बन्धमा नयाँ उचाइ थपेको बताउनु भएको छ ।

भारत भ्रमणबारे जानकारी दिन आज एक होटलमा आयोजित पत्रकार सम्मेलनमा उहाले प्रधानमन्त्रीको भारत भ्रमण सफल भएको बताउनु भयो । नेपाल भारतबीच सद्भावना र सहयोग बढाउने भ्रमणको मूल लक्ष्य रहेकोमा सो पुरा भएको उहाको भनाई थियो ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सहित भएको द्विपक्षीय वार्ताबारे जानकारी दिँदै उहाले दुई देशबीचका सबै विषयमा खुलेर छलफल भएको र त्यसले आगामी दिनमा सकारात्मक सन्देश दिने उल्लेख गर्नुभयो । उहाले द्विपक्षीय छलफलमा एक एक गरेर आपसी हितका विषयमा छलफल भएकाले कार्यान्वयनको पाटोले थप उत्साह थपिएको बताउनु भयो ।

विगतमा भएका सम्झौता एवम् प्रतिबद्धतालाई निश्चित समय सीमाभित्र कार्यान्वयनमा ल्याइने र त्यसका लागि दुई देशबीचमा भएका मन्त्री, सचिव एवम् प्राविधिकस्तरीय संयन्त्रलाई क्रियाशील गराउने प्रतिबद्धता व्यक्त गरिएकाले पनि आगामी दिनमा विकासको विषयले प्राथमिकता पाउने बताए।

पञ्चेश्वर आयोजना अगाडि बढाइने र विद्युत् व्यापारमा सहज पहुँचलाई पनि द्विपक्षीय मन्त्रिस्तरीय संयन्त्रले त्यसलाई टुङ्ग्याउने पनि सहमति भएको उहाले बताउनु भयो ।

संविधानका विषयमा भारत सरकारले पहिले नै स्वागत गरेको उल्लेख गर्दै मन्त्री डा महतले लोकतन्त्रको सुदृढीकरणमा जाने प्रक्रियालाई सराहना गरेको जानकारी दिनुभयो ।

शनि, अशोज १, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...