रित्तै आमाको पेट……

झिसमिसेमा उठेर जातो पिस्नु पथ्र्यो । जातोमा एक पाथी कोदो मकै पिने पछि फेरी पधेरामा पानी भर्न गाग्री डोकामा हालेर कुदनु पर्थ्यो । त्यति मात्र कहा हो र डोकोमा जर्किन ( ग्यालिन ) पनि बोक्नु पथ्र्यो । त्यस पछि घर आउदा आफ्ना नानी बाबु उठेर रोईरहेका हुन्थे । उनीहरुको दिशा पिशाब सोहर्दै उनीहरुलाई आफ्नो दुध चुसाएर एक छिन पछि फेरी कोक्रोमा हालेर हा हा गर्दै कोदाको रोटी र गुन्द्रुकको अचार बनाउनु पथ्र्यो । त्यस पछि फेरी च्याख्ला पकाएर अनि घास दाउरा गर्न जानु पर्थ्यो   ।
त्यतिले मात्र उहाको दुखःको कथा कहा पुरा हुन्छ र यो त एक दिनको कहानी मात्र हो । चाड पर्व आउदा बेला बेला मात्र मासु पाक्थ्यो चुलामा । हजुरआमा र हामी छोराछोरी र बुवालाई पहिला नखुवाई आमाको मुखमा मासु पर्ने कुरा भएन ।
त्यसरी बाड्दा बाड्दै एक बिसौली ( आधा धार्नी ) मासु कराईबाटै सिद्धिन्थ्यो , मासु सगै पाक्ने चामलको भात पनि रित्तिए पछि आमाले कन्ती ( कराही ) मा पानी उमालेर अनि कोदाको पिठो हालेर आडालेर ढिडो खानुहुन्थ्यो ।
तै पनि साना भएकाले होला आमाले मासु भातै खानु पर्छ भन्ने हामीले सोचेनौं । संस्कारले होला बुवाले पनि सोच्नु भएन ।
भनेको त सुनिन्थ्यो बुहारीको जात त डाडु पुन्यु चाटेर पनि अघाउछ ।
यसरी रात दिन जातो ढिकी, पानी घास , दाउरा गर्दा भोको पेट कस्न आमा बाह्र हात लामो पटुकी बाध्नु हुन्थ्यो ।
उहाको हात काडा जस्तो साह्रो थियो ठेलै ठेला , खस्रो न खस्रो । दात माझ्न पाउनु हुन्नथ्यो , त्यसैले दात पनि कालै भयो ।
उहाले निर्वाध रुपमा खाने गरेको एउटा सालको सुकेको पहेलो खालको पातमा सुर्ती हालेर बेरेर अनि झुलो चकमकले आगो निकालेर खाने बिडी मात्र थियो ।
यसरी मेरी आमाले झण्डै एक दर्जन छोरा छोरी हुर्काउनु भयो । पढाउनु भयो , बढाउनु भयो । अहिले आमाको उमेर ६० वर्ष नाघ्यो । बुवा बितेको धेरै वर्ष भयो ।
हुनत बाचुञ्जेल पनि बुवाले आमालाई पटक पटक मुक्का लगाएकाले रिस त नउठेको हैन । तै पनि जीवनमा एक्लै हुनुको पीडा आमालाई परेकै छ ।
उहाको आन्द्रामा अल्सर भएको छ , पेट सुन्निएको छ , ग्याष्ट्रिकले सताएको छ । दात झरेका छन् , कपाल फुलेका छन् । पाठेघर खसेको छ ।
कोही छोरा अमेरीका त कोही कतार साउदी , बुहारीहरु झपक्क गहना लगाएर शहर बजारमा बस्छन् ।
न आमाको मुख हेर्ने दिन ती छोरा बुहारी सम्झन्छन् , न त अरु समयमा ।
आखिर मेरी आमाको लागि उहिलेको उखान जस्तै बाह्र छोरा तेह्र नाति बुढाको धोक्रो काधै माथि जस्तो भएको छ ।
आमा त्यही डाडाबारीको झुपडीमा एक्लै , कहिले रुदै कहिले हास्दै बसिरहनु भएको छ । सुन्दै छु मेरा छोरा छोरी यति छन् , नाति नातिना छ झ्न २० जना छन् भन्दै गाउमा कुरा गर्नु हुन्छ रे ।
तर न छोरा न छोरी न नाति नातिना कसैले उहालाई सञ्चो बिसञ्चो सोधेको छैन ।
धन्य आमा आफू मरेर पनि छोराछोरीको लागि हास्ने । तपाई त्यसकारणले आमा बन्नु भयो । धर्ती बन्नु भयो ।
तपाई आमा धर्तीलाई वेवास्था गर्ने ती छोराछोरीले सुनकै छाना लगाए पनि जन्म त तपाईले दिएको हो नि , उनीहरुको पनि भोली यस्तै पालो आउला कठै ।
मनभरी माया संगालेर आमा म तिमीलाई भेट्न एक पटक आउने छु लड्डुको पोको लिएर ,सारीको झोला लिएर , स्याउको दाना लिएर पर्खि बस है ।।।।।। तस्विर :गुगल

शनि, अशोज १, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...

अन्य ब्यानर समाचार समाचार

Like us On Facebook

Follow Us On Twitter