निर्वाचन तयारीबारे २५ दललाई जानकारी

काठमाडौँ, ३१ भदौ ।

आसन्न निर्वाचनका लागि गरिरहेको आन्तरिक तयारीका बारेमा निर्वाचन आयोगले आज संसद्मा प्रतिनिधित्व गरेका विभिन्न २५ राजनीतिक दलका शीर्ष नेतृत्वलाई जानकारी गराएको छ ।

आयोगमा आज आयोजित छलफलमा प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले आसन्न निर्वाचनका लागि आयोगले गरेको तयारीबारे जानकारी गराउनुभएको थियो ।

आयोगका सहसचिव एवम् प्रवक्ता सूर्यप्रसाद शर्माका अनुसार प्रमुख निर्वाचन आयुक्त डा यादवले नेपालको संविधानमा राजनीतिक दल सम्बन्धमा भएको प्रावधान र प्रावधानअनुसार राजनीतिक दलले गर्नुपर्ने कार्यबारे प्रकाश पार्नुभएको थियो ।

सो अवसरमा आयोगका सहसचिव सुशील कोइरालाले संविधानमा राजनीतिक दल सम्बन्धमा रहेका प्रावधानका बारेमा विस्तृतरुपमा राजनीतिक दलका शीर्ष नेतृत्वलाई जानकारी गराउनुभएको थियो ।

कार्यक्रममा नेपाली काँग्रेसका शेरबहादुर देउवा, नेकपा (एमाले)का उपाध्यक्ष वामदेव गौतम ,नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिशम्शेर जबरा, मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदार लगायत २५ दलका अध्यक्षको सहभागिता रहेको आयोगले जनाएको छ ।

शुक्र, भदौ ३१, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया