प्रधानमन्त्री दाहाल आज भारत प्रस्तान,स्वराजद्धारा विमानस्थलमा स्वागत

काठमान्डौ भदौ ३० ।
प्रधानमन्त्री पुष्पकमल दाहाल आज चार दिने औपचारिक भ्रमणका लागि भारत प्रस्थान गर्नु भएको छ । प्रधानमन्त्रीमा निर्वाचित भएपछि पहिलो पटक प्रधानमन्त्री दाहाल १ सय १६ सदस्यीय जम्बो प्रतिनिधी टोली सहित नयाँ दिल्ली प्रस्थान गर्नू भएको हो ।

इन्दिरागान्धी अन्तराष्ट्रि«य बिमानस्थलमा भारतीय विदेशमन्त्री शुस्मा स्वराजले प्रधानमन्त्री दाहाललाइ स्वागत गर्नुभएको थियो ।
टोलीमा परराष्ट्रमन्त्री प्रकाश शरण महत, भौतिक योजना तथा निर्माणमन्त्री रमेश लेखकसहित सरकारका उच्च अधिकारी, निजी क्षेत्रका प्रतिनधी, संचारकर्मी लगायत सहभागी छन् ।

प्रधानमन्त्री दाहालले राजनितिक भेटवार्ता भने भोलीबाट मात्रै सुरु गर्नुहुनेछ । उहाले भोली विहान ९ वजे सेरेमोनियल रिसेप्सनमा सहभागीता जनाए लगत्तै भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेट गर्नुहुनेछ । भेटपछि संयुक्त बक्तव्य सार्वजनिक गर्ने कार्यक्रम रहेको छ ।

त्यसपछि साँझ दाहालले भारतीय राष्ट्रपति प्रवण मुखर्जीसँग पनि भेट गर्नुहुनेछ । त्यसअघि अपरान्ह नै दाहालले भारतीय विदेशमन्त्री सुष्मा स्वराज, अर्थमन्त्री अरुण जेट्ली, उर्जामन्त्री पियुष गोयल लगायतसँग भेट गर्नुहुने त्यहाँको विदेशमन्त्रालयले जनाएको छ ।

शनिवार विहान दाहालले हिमान्चलको एक जलविद्युत आयोजनको अवलोकन गर्ने र साँझ भारतीय गृहमन्त्री राजनाथ सिंहसँग भेट गर्ने तालिका तय भएको छ ।

यस वाहेक दाहालले विभिन्न राजनितिक दलका नेताहरुलाई पनि भेट्नुहुनेछ । त्यसैगरी प्रधानमन्त्री दाहालले प्रवासी नेपाली तथा व्यापारिक समुदायसँग पनि अन्तरक्रिया गर्नुहुनेछ ।

राष्ट्रपतिको राजकीय पाहुनाका रूपमा प्रधानमन्त्री दाहालसहित १५ जना प्रतिनिधिमण्डल राष्ट्रपति भवनमा बसेका छन् भने बाँकी ३७ जनालाई भने ताजमानसिंह होटेलमा बस्ने व्यवस्था मिलाइएको छ ।

चार दिने भ्रमण सकेर प्रधानमन्त्री दाहाल असोज २ गते स्वदेश फर्कनुहुनेछ ।

बिहि, भदौ ३०, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया