चितवनमा आजबाट लाखे नाच हुदै

काठमान्डौ भदौ ३० ।
चितवनमा आजबाट पाँचौ लाखे नाच प्रतियोगिता सुरु हुँदै छ । लोक संस्कृति संरक्षण तथा राष्ट्रिय लाखेनाच प्रतिष्ठान नेपालको आयोजनामा सो लाखे नाच हुन लागेको हो ।

भोलिसम्म सञ्चालन हुने प्रतियोगिताको उद्घाटन पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले आज दिउँसो दुई बजे गर्ने कार्यक्रम रहेको छ ।

राष्ट्रिय लाखे नाच प्रतियोगितामा २३ वटा जिल्लाबाट ३६ समूहले सहभागिताको लागि नाम दर्ता गराएको आयोजकले जनाएको छ ।

लाखे नाच प्रतियोगिताले नेपालको आन्तरिक तथा बाहृय पर्यटन आगमनको लागि समेत टेवा पुग्ने लोक संस्कृति संरक्षण तथा राष्ट्रिय लाखेनाच प्रतिष्ठान नेपालका अध्यक्ष राजेन्द्र कुमार पियाले बताउनु भयो ।

लाखे नाच सोह्र श्राद्ध सुरु हुने पूणिर्माको दिनसम्म देखाइने हुनाले त्यसै समयलाई मध्यनजर गर्दै प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ ।

प्रतियोगितामा पहिलो हुने समूहलाई ७५ हजार रुपैयाँ, दोस्रो हुनेलाई ५० हजार रुपैयाँ, तेस्रो हुनेलाई २५ हजार रुपैयाँ र सान्त्वना हुनेलाई १० हजार रुपैयाँ पुरस्कारको व्यवस्था समेत गरिएको छ ।

प्रतियोगिता सम्पन्न गर्नको लागि १५ लाख ३४ हजार रुपैयाँ खर्च हुने आयोजकको अनुमान रहेको छ ।

बिहि, भदौ ३०, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया