बाल दिवस दिवसमै सीमित, पीडा बोकेर बस्न बाध्य बालबालिका

विहान १० बजेको समय तिर कलेजबाट घर फर्कदै थिए । दुइ चार जना स–साना बालबालिकाहरुको समूह बाटोमा खेल्दै थिए । मैला र फोहोरी कपडामा । वरीपरी बोराका झोलाहरु पनि देखिएका थिए । एक छिन अड्डिएर हेर्न मन लाग्यो र बाटोमै रोकिएर हेरेर बसे, आफ्नो बालापनको पनि केहि आभाष भइरहेको थियो त्यो देखेर । अनि एक्लै मुस्कुराउदै थिए म । कति रमाइलो तरिकामा एक आपसमा मिलेर खेलिरहेका थिए । साथी सङगीहरुको विचमा घुलमिल भइरहेका थिए ।

एकै छिनमा खेल्दै गर्दाको क्रममा त्यहाँ मध्येको सानो एक बालककोे हातले अर्काे बालकलाई लाग्यो । उनको आँखामा नै घोच्चिए छ । उनले आक्रोशित हुदै ती सानो बालकलाई आफूले सक्ने सम्मको बल प्रयोग गर्दै कुटे । अनि म छेउमै गएर सोधे–े“किन कुटेको आफू भन्दा सानो मान्छेलाई त माफ गरिदिएर अव यसो नगर्न सल्लाह दिनु पर्छ त भने” तर उनीहरुले केही नबोली हेरेर बसि रहे ।

ती समूह मध्येका अलि जानकार तथा ठूला ठालु जस्ता देखिनेले भने तपाइलाई के मतलव भो त…….. हामी जे सुकै गरौ…. अनि म हास्दै तिनीहरुसँगको कुराकानी अगाडि बढाउ थाले । मैले घर सोधे, नाम सोधे तर उनीहरुले ठूले साने भन्दै अरु केहि नबोली हेरिरहे केहि बोलेनन् । उनीहरुलाई थाहा थिएन या बताउन चाहेनन् ।

तर उनीहरुको दिन चर्या दिनभर बाटोको प्लास्टिकका भाडा बटुल्दै र बेलुका बाटोमा सुत्दै बित्ने गर्छ । जीन्दगीको विना टुङगो जीवन जीइरहेका छन् सडक बालबालिका । उनीहरु मात्र होइन मुलुकभरका सडक बालबालिकाको पिडा यस्तै छ । तर चासो कसैलाई छैन । उनीहरु त समाजका एक उदाहरण मात्र हुन् ।

यतिमात्र नभएर आफ्नौ दैनिकी गुजारा चलाउन कै लागि ठूलाबवडा भनौदाकोमा काम गर्न बाध्य बालबालिकाहरु माथि उनीहरुले श्रम शोषण मानसिक तथा शारिरीक यातना पनि त्यत्तिकै दिने गर्दछन् । तर उनीहरुको संरक्षण कहीबाट हुन सकेको छैन । संरक्षण त परै जाओस् दुःख पाएका, बालश्रमिक, सडक बालबालिका कति छन् भन्ने यकिन तथ्याङ्क पनि अहिलेसम्म कसैसँग छैन ।

बालबालिकाका क्षेत्रमा काम गर्ने धेरै संघसंस्थाहरु तथा सरोकारवाला निकाय रहेपनि उनीहरुले उल्लेखनीय कार्य गर्न नसकेको अवस्था छ ।

जनगणना २०६८ अनुसार नेपालमा १६ वर्षसम्मका बालबालिकाको संख्या एक करोड पाँच लाख ४६ हजार अर्थात कूल जनसंख्याको ३९.८ प्रतिशत रहेको छ । देशभर अहिले ५ हजारभन्दा बढी सडक बालबालिका रहेको तथ्यांक छ । गरिबी, प्राकृतिक विपत्ति, द्वन्द्वलगायत कारणले आफ्नो अभिभावक गुमाएका बालबालिका दिनरात सडकमा बिताउन बाध्य छन् । अन्तर्रा्ष्ट्रिय श्रम सङ्गठनका अनुसार विश्वमा पाँचदेखि १७ वर्षउमेरका लगभग १६० करोड बालबालिका बालश्रममा छन् ।

यद्यपी सरकारले प्रत्येक वर्ष भदौ २९ गते राष्ट्रिय बाल दिवस मनाउदै आएपनि बालबालिकाको अवस्थामा खासै सुधार आउन सकेको छैन् । देशका विभिन्न स्थानमा बाल श्रम शोषणको घटना जारी रहेको, बालबालिकाको बेचविखन तथा विद्यालय जान नपाउने बालबालिकाको संख्या अझै धेरै रहेको अधिकारकर्मीहरुले जनाएका छन् ।

यतिका संख्यामा बालबालिकाको हकहितको लागि स्थापना गरिएका सघंसंस्था हुदाँ पनि बाल श्रम, बाल शोषण, बालविवाह लगायतका समस्याले अझै सम्म पनि जरो गाडेको पाइन्छ जव सम्म यी र यस्ता सरकारी तथा गैर सरकारी संघसंस्थाहरुको काम गर्ने शैली सोचाइमा परिवर्तन आउन सक्दैन तव सम्म यस्ता समस्या हटेर जान सक्दैन । त्यसैले यस्ता संघसंस्था लगायत सम्पूर्ण सरोकारवाला निकायहरुले कार्यशैलीमा परिवर्तन गरी प्रत्यक्ष प्रभाव पर्ने गरी विभिन्न जनचेतना मुलक कार्यहरुमा आफ्ना हातहरु अगाडि बढाउन जरुरी छ ।

बिहि, भदौ ३०, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...