प्रधानमन्त्री दाहाल आज भारत भ्रमणमा जादै

काठमान्डौ भदौ ३० ।

प्रधानमन्त्री पुष्पकमल दाहाल आज चार दिने औपचारिक भ्रमणका लागि भारत जादै हुनुहुन्छ । नेपाल वायु सेवा निगमको जहाज बाट आज विहान ११ बजे उहाँ १ सय १६ सदस्यीय जम्बो प्रतिनिधी टोली सहित त्यस तर्फ प्रस्थान गर्न लाग्नु भएको हो।

तर टोलीमा सहभागी ४२ जनाको खर्च मात्रै सरकारले वेर्होने जनाएको छ । मध्यान्ह साढे १२ बजे दिल्ली पुग्नुहुने दाहाललाई इन्दिरा गान्धी अन्तर्रा्ष्ट्रिय विमानस्थलको सेरेमोनियल लन्जमा भारत सरकारका अधिकारीले स्वागत गर्नेछन् ।

राष्ट्रपतिको राजकीय पाहुनाका रूपमा प्रधानमन्त्री दाहालसहित १५ जना प्रतिनिधिमण्डल राष्ट्रपति भवनमा बस्नेछन् । सरकारी भ्रमण दलका बाँकी ३७ जनालाई भने ताजमानसिंह होटेलमा बस्ने व्यवस्था मिलाइएको छ ।

प्रधानमन्त्री दाहालले राजनितिक भेटवार्ता भने भोलीबाट मात्रै सुरु गर्नुहुनेछ । उहाले भोली विहान ९ वजे सेरोमोनियल रिसेप्सनमा सहभागीता जनाएलगत्तै भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेट गर्नुहुनेछ । भेटपछि संयुक्त बक्तव्य सार्वजनिक गर्ने कार्यक्रम रहेको छ ।

त्यसपछि साँझ दाहालले भारतीय राष्ट्रपति प्रवण मुखर्जीसँग पनि भेट गर्नुहुनेछ । त्यसअघि अपरान्ह नै दाहालले भारतीय विदेशमन्त्री सुष्मा स्वराज, अर्थमन्त्री अरुण जेट्ली, उर्जामन्त्री पियुष गोयल लगायतसँग भेट गर्नुहुने त्यहाँको विदेशमन्त्रालयले जनाएको छ ।

शनिवार विहान दाहालले हिमान्चलको एक जलविद्युत आयोजनको अवलोकन गर्ने र साँझ भारतीय गृहमन्त्री राजनाथ सिंहसँग भेट गर्ने तालिका तय भएको छ ।

यस वाहेक दाहालले विभिन्न राजनितिक दलका नेताहरुलाई पनि भेट्नुहुनेछ । त्यसैगरी प्रधानमन्त्री दाहालले प्रवासी नेपाली तथा व्यापारिक समुदायसँग पनि अन्तरक्रिया गर्नुहुनेछ ।

चार दिने भ्रमण सकेर प्रधानमन्त्री दाहाल असोज २ गते स्वदेश फर्कनुहुनेछ ।

बिहि, भदौ ३०, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...