बालबालिका अझै शारिरीक तथा मानसिक हिंसा भोग्न बाध्य : राष्ट्रपति

काठमाण्डौ ,२९ भदौ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले बालबालिकाको विकासका लागी भएका कामहरु सन्तोषजनक नभएको बताउनु भएको छ ।
राष्ट्रिय बाल दिवसको अवसरमा आज राजधानीमा आयोजित कार्यक्रमको उदघाटन गर्दै राष्ट्रपति भण्डनरीले बालबालिकाले आज पनि विभिन्न शारिरीक तथा मानसिक हिंसा भोग्न बाध्य भएको बताउनु भयो ।
गरिबी, सामाजिक कुरिति आदि कारणले पनि बालबालिका आफुले पाउने हक अधिकारबाट वञ्चित हुनुपरेको उहाँको भनाई थियो ।
बालबालिकाको विकासका लागि विभिन्न नीति नियम निर्माण भएपनि उचित कार्यन्वयन नभएकाले उनीहरूको हक अधिकार कुण्ठित भएको राष्ट्रपति भण्डारीले उल्लेख गर्नुभयो ।
बालबालिकाका लागि लगानी गरे भोलि दक्ष र उर्जाशिल जनशक्ति उत्पादन हुने भन्दै बालबालिकाको उच्च शिक्षा, स्वास्थ्यमा लगानी बढाउनुपर्नेमा जोड दिनुभयो ।

यस्तै कार्यक्रममा युवा तथा खेलकुदमन्त्री दलजित श्रीपाइली, महिला बालबालिका समाजकल्याण तथा ज्येष्ठ समितिकी सभापति रञ्जु झा, केन्द्रिय बालकल्याण समितिका अध्यक्ष डिल्लीराम गिरी लगायतले संविधानमा बालअधिकारका धेरै राम्रा व्यवस्था भएपनि कार्यान्वयन अभाव रहेको भन्दै सबै मिलेर कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा बालअधिकारको संरक्षणमा सक्रिय २५ जनालाई सम्मान पनि गरिएको छ ।

बुध, भदौ २९, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया