मुलुकलाई आर्थिक समृद्धि तर्फ लैजानुपर्नेमा सांसदको जोड

काठमाण्डौ ,२७ भदौ ।

बिभिन्न दल आबद्ध सांसदहरुले संविधानको कार्यान्वयन गरी विकास निर्माणलाई तिव्रता दिएर आर्थिक समृद्धि तर्फ लाग्नुपर्नेमा जोड दिएका छन् ।

व्यवस्थापिका संसद बैठकको विशेष समयमा बोल्दै सांसदहरुले भूकम्प पीडितलाई दशै अघि नै राहत रकम उपलब्ध गराउन माग गर्दै मुलुकलाई आर्थिक समृद्धि तर्फ लैजानुपर्नेमा जोड दिएका हुन् ।

आजको बैठकमा बोल्दै एमाले सांसद अष्टलक्ष्मी शाक्यले राष्ट्रियता र सार्वभौमिकतालाई जोगाएर संविधान कार्यान्वयनको दायित्वमा सबै दल एक भएर लाग्नुपर्ने बताउनु भयो ।

कांग्रेसका सांसद रामहरि खतिवडाले भूकम्प पीडितले पाउने रकम लिन २ –३ दिन लगाएर सदरमुकाम पुग्नुपर्ने समस्या रहेकोले दशैं अगाडि एकमुष्ट एक लाख ५० हजार रकम उपलब्ध गराउन माग गर्नुभयो ।

यस्तै, माओवादी केन्द्रका सांसद श्यामकुमार श्रेष्ठले प्रधानमन्त्रीको भारत भ्रमणमा कार्यकारी प्रमुखका हैसियतले निर्धक्क काम गर्न दिईनुपर्ने भन्दै अतिरञ्जीत रुपमा प्रश्न नगर्न आग्रह गर्नुभयो ।

आजको बैठकले संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्रा्ष्ट्रिय व्यापार नियन्त्रण विधेयक र वनस्पति विधेयक दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाएको छ ।

यस्तै भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले सवारी तथा यातायात व्यवस्था दोस्रो संशोधन विधेयक पेस गर्नुभएको छ ।

संसदको अर्को बैठक पर्सी बुधवार विहान ११ बजेका लागि बोलाईएको छ ।

सोम, भदौ २७, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया