कोरम नपुगेपछि आजको संसद बैठक स्थगित

काठमाण्डौ , २४ भदौ ।

व्यावस्थापिका संसद बैठक चलिरहेका बेला सांसदहरु आई एन जिओको कार्यक्रममा सहभाग हुन हिडेपछि संविधान कार्यान्वयनसम्बन्धी महत्वपूर्ण विधेयक अलपत्र परेको छ ।

सदन चलिरहेकै बेला सांसदहरु नेशनल डेमोक्रेटिक इन्स्टिच्युट नामक अन्तर्रा्ष्ट्रिय गैरसरकारी संस्थाले बुढानिलकण्ठस्थित एक रिसोर्टमा आयोजना गरेको कार्यक्रममा सहभागी हुन हिडेपछि संसदमा कोरम नपुगेको हो ।

संसदको आजको कार्यसूचीमा उच्च अदालत गठनसँग सम्बन्धित तीन वटा विधेयक पारित गर्ने कार्यसूची थियो ।

द्वन्द्व व्यवस्थापन सम्बन्धी आयोजीत आवासीय गोष्ठीमा भाग लिन ३० भन्दा बढी सांसदहरु बैठक छोडेर कार्यक्रममा हिडेका थिए । बैठकमा नेपाल मजदुर किसान पार्टीका सांसद डिल्लीराम काफ्लेले कोरम नपुगेको प्रश्न उठाएपछि गणना गर्दा उपस्थित सांसदको संख्या एकसय २६ मात्र थियो ।

कुनै पनि बिषयमा छलफल गर्नको लागि संसदको एक चौथाई संख्या अर्थात एकसय ४९ संख्या आवश्यक पर्छ ।

आजको बैठकमा न्याय परिषद् विधेयक, न्याय प्रशासन विधेयक र न्याय सेवा आयोजक विधेयक पारित गर्ने कार्यसुची थियो ।

बैठकको विशेष र शून्य समयमा सांसदहरुले बाढी पहिरोले पारेको असर लगायत समसामयिक विषयमा सरकारको ध्यानाकर्षया गराएका छन् । संसदको अर्को बैठक पर्सी आईतबार विहान ११ बजेका लागि बोलाइएको छ ।

शुक्र, भदौ २४, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...