माओवादी केन्द्रको प्रमुख सचेतकमा टेकबहादुर चयन

काठमान्डौ ,भदौ २४।
नेकपा माओवादी केन्द्रले विभिन्न समितिमा पार्टीका तर्फबाट रिक्त रहेका सदस्यको नाम टुंगो लगाएको छ । सिंहदरवारमा आज बसेको केन्द्रको संसदीय दलको बैठकले पार्टीका तर्फबाट रिक्त रहेका पदमा सदस्यहरुको नाम सिफारिस गरेको हो ।

बैठकले पार्टीको प्रमुख सचेतकमा टेकबहादुर बस्नेतलाई चयन गरेको छ । यसअघि हितराज पाण्डे संघिय मामिला तथा स्थानिय विकास मन्त्री बनेपछि प्रमुख सचेतक पद खाली रहेको थियो ।

यस्तै बैठकले संसदीय दलका नेता पुष्पकमल दाहालको नेतृत्वमा संसदीय बोर्ड पनि गठन गरेको छ । बोर्डको सचिवमा रामनारायण विडारी रहेको माओवादी केन्द्रका नेता अग्नी सापकोटाले जानकारी दिनुभयो ।

जसअनुसार विकास समितिमा टोपवहादुर रायमाझी, महिला बालवालिका तथा जेष्ठ नागरिक समितिमा गिरीराजमणी पोखरेल, लेखा समितिमा हरिबोल गजुरेल, अर्थ समितिमा शक्तिबहादुर बस्नेत, वातावारण संरक्षण समितिमा अग्नी सापकोटा, राज्य ब्यवस्था समितिमा रेखा शर्मालाई पठाइने उहाँले बताउनुभयो ।

यस्तै माओवादी केन्द्रले संसदीय दल अन्तगर्त प्रदेशको संयोजक पनि तोकेको छ । जसअनुसार प्रदेश नम्बर १ मा शिवकुमार मण्डल, २ मा रामसिंह यादव, ३ मा सन्तु दराई, ४ मा कृष्ण धिताल, ५ मा रेखा शर्मा, ६ मा टेकवहादुर बस्नेत र ७ मा हरि ज्ञवाली संयोजक तोकिएको छ ।

आजको बैठकमा प्रधानमन्त्री दाहालको आसन्न भारत भ्रमणको विषयमा पनि छलफल भएको थियो ।

शुक्र, भदौ २४, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...