काठमाडौं निजगढ द्रुतमार्ग निर्माण कार्य अघि बढाउन निर्देशन

काठमाण्डौ, २३ भदौ।

ब्यवस्थापिका संसदको विकास समितिले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल र काठमाडौं निजगढ द्रुतमार्ग निर्माणको काम तत्काल अघि बढाउन सरकारलाई निर्देशन दिएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखक, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनबहादुर शाही तथा दुवै मन्त्रालयका सचिव लगायतसँग छलफल गरि दुवै आयोजना देशका लागि अति नै महत्वपूर्ण भएकाले तत्काल काम अघि बढाउन निर्देशन दिएको हो ।

बैठकले धेरैजसो आयोजनाको निर्माणमा अग्रसर कम्पनीले पुँजी संकलन वा अरु बहानामा परियोजना ओगट्ने गरेको तर्फ ध्यानाकर्षण समेत गराएको छ ।

आफ्नै श्रम, सीप, श्रोत साधन, तथा सामथ्र्यताको उपयोग गर्न र आवश्यक परे वैदेशिक ऋण वा सहायता समेत लिएर सरकार आफैले आयोजना सम्पन्न गराउन पनि सरकारलाई निर्देशन दिएको समिति सभापति रविन्द्र अधिकारीले जानकारी दिनुभयो ।

यी आयोजना कार्यान्वयनका लागि अहिलेको योजना सिद्धान्त, नीति, मोडालिटी नक्सा, जंगल र वस्ती व्यवस्थापन लगायत विषयमा स्पष्ट खाका, सहितको कार्यतालिका एक महिनाभित्र बनाई कार्यान्वयनमा लैजान निर्देशन दिएको छ ।

एक महिनाभित्र अहिलेसम भएका कामको श्वेतपत्र जारी गर्न समेत समितिले सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएको छ ।

समितिको बैठकले त्रिभुवन विमानस्थलमा कुनै कारणले समस्या आएमा विमानलाई डाइभर्ट गर्ने अर्को अन्तराष्ट्रिय विमानस्थल देशमा नभएको तथा अन्तराष्ट्रिय विमानस्थल देश विकासका लागि आवश्यक रहेको निष्कर्ष पनि निकालेको छ ।

पोखरा र लुम्बिनीमा अन्तराष्ट्रिय विमानस्थल बनाउने काम पनि दु्रत गतिमा अघि बढाउन समेत बैठकले निर्देशन दिएको छ ।

बिहि, भदौ २३, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...