विश्वविद्यालयबाट उत्कृष्ट हुनेहरु नेपाल विद्या भूषणबाट विभुषित

काठमाण्डौ ,२३ भदौ ।
‘समृद्ध राष्ट्र निर्माणका लागि जीवनोपयोगी शिक्षामा लगानी’ भन्ने नाराका साथ आज ३७ औं शिक्षा दिवस तथा अन्तर्रा्ष्ट्रिय साक्षरता दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै छ ।

दिवसका अवसरमा विभिन्न विश्वविद्यालयबाट उत्कृष्ट हुनेहरुलाई नेपाल विद्या भूषणबाट विभुषित गरिएको छ । विभुषितहरु हुनेहरुमा नेपाल विद्याभूषण क श्रेणीका १ सय ९०, ख श्रेणीका ८१ र ग श्रेणीतर्फ १५ जना रहेका छन् ।

उनीहरुलाई शिक्षा मन्त्रालयले आज राष्ट्रपति निवास शितलनिवासमा गरेको कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले बिभुषित गर्नुभएको हो ।
त्यसैगरी स्नातक तहको नेपाल छात्रा विद्यापदक २६ जनालाई र प्रमाणपत्र तहको नेपाल छात्रा विद्यापदक ४ जनालाई प्रदान गरिएको छ ।

कार्यक्रममा बोल्दै राष्ट्रपति भण्डारीले राष्ट्रको चौतर्फी विकास र मुलुकलाई एकताको सुत्रमा बाँध्न शिक्षाको विकास अपरिहार्य रहेको बताउनु भयो ।

उहाले संविधान निर्माणपछि मुलुक आर्थिक विकासतर्फ उन्मुख रहेकोले यसलाई पुरा गर्न नयाँ पुस्ताले साथ दिनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा शिक्षामन्त्री धनीराम पौडेलले जीवनोपयोगी र गुणस्तरिय शिक्षाका लागि सरकार प्रयत्नशील रहेको बताउनु भयो ।

तत्कालीन राजा वीरेन्द्रले निःशुल्क र अनिवार्य प्राथमिक शिक्षाको घोषणा गरेको दिनको सम्झनामा वि.सं. २०३१ सालदेखि फागुन १२ गते मनाउने गरिएको राष्ट्रिय शिक्षा दिवस गणतन्त्र स्थापना भएपछि अन्तर्रा्ष्ट्रिय साक्षरता दिवसको दिन पारेर मनाउन थालिएको हो ।

निरक्षरलाई साक्षर बनाउन सरकारले औपचारिक र अनौपचारिक शिक्षा कार्यक्रम अन्तर्गत विभिन्न अभियान चलाइरहेको छ । तर सन् २०१५ अर्थात पोहोरसम्म नेपाललाई पूर्ण साक्षर घोषणा गर्ने लक्ष्य भएपनि अझै पूरा हुन सकेको छैन । अहिलेसम्म २९ जिल्ला पूर्ण साक्षर घोषणा भएका छन्।

यो वर्षको अन्त्यसम्ममा ५३ जिल्ला पूर्ण साक्षर घोषणा भइसक्ने अनौपचारिक शिक्षा केन्द्रले दावी गरेको छ ।

बिहि, भदौ २३, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...

अन्य शिक्षा-रोजगार समाचार