निजामती सेवाको ढाँचालाई रुपान्तरण गर्न आवश्यक रहेको प्रमको भनाई

काठमाण्डौ ,२२ भदौ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले अहिले रहेको निजामती सेवाको ढाँचालाई रुपान्तरण गर्न आवश्यक रहेकोमा जोड दिनुभएको छ ।

१३ औ निजामती सेवा दिवसको अवसरमा प्रज्ञा भवन कमलादिमा आज आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले संघीयतालाई कार्यान्वयन गर्न निजामती कर्मचारीलाई समयसापेक्ष प्राथमिकता, माग र आवश्यकता अनुरुप परिमार्जन गर्दै जानुपर्ने बताउनु भएको हो ।

उहाँले प्रदेश र स्थानीय तहमा रहने निजामती सेवाको व्यवस्थापनमा संघीय सरकारले सहजकारी भूमिका खेल्नु पर्ने धाराण राख्नुभयो ।

प्रदेश र स्थानीय तहमा रहने निजामती सेवाको व्यवस्थापन गर्ने जिम्मा सरकारको क्षेत्राधिकारभित्र पर्ने भए पनि संक्रमणकालमा संघीय सरकारको भूमिका महत्वपूर्ण हुने प्रधानमन्त्रीको भनाई छ ।

उहाले संविधानले निर्धारण गरेका अधिकार क्षेत्रका आधारमा केन्द्रमा बन्ने सरंचना अनुसार जनशक्ति निर्धारण गरी बाँकीलाई प्रदेश र स्थानीय तहमा समायोजन गर्नुपर्ने बताउनु भयो ।

यस्तै प्रधानमन्त्री दाहालले जनता र राष्ट्रको हितमा काम गर्न निजामती कर्मचारीहरुलाई निर्देशन पनि दिनु भएको छ ।

निष्पक्ष र इमान्दार भएर जनताको सेवामा लाग्न कर्मचारीहरुलाई निर्देशन दिदै मुलुकको आर्थिक सम्बृद्धि सरकारको लक्ष्य रहेकोले सकारात्मक र प्रभावकारी भूमिका खेल्न कर्मचारीहरुलाई आग्रह गर्नू भयो ।

यसैबीच आज १३ औं निजामति दिवस मुलुकभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाइदैछ । दिवसको यस वर्षको नारा सेवामैत्री प्रशासन, संघियतामा सुशासन भन्ने तय गरिएको छ ।

२०१३ साल भदौ २२ गते तत्कालीन प्रधानमन्त्री टंकप्रसाद आचार्यले निजामती सेवा ऐन ल्याएको दिनको सम्झनामा हरेक वर्ष निजामती दिवस मनाउने गरिन्छ ।

नेपालमा निजामती सेवा गठन भएको ६० वर्ष पूरा भए पनि २०६२ साल भदौ २२ गतेबाट मात्र औपचारिक रूपमा यो दिवस मनाउन थालिएको हो । नेपालमा हाल करिब ८३ हजार निजामती कर्मचारी कार्यरत छन् ।

दिवसका अवसरमा सामन्य प्रशासन मन्त्रालयले आज प्रभातफेरि सहित विषेश कार्यक्रमको आयोजना गरेको छ । मन्त्रालयको आयोजनामा आज बिहान निजामति कर्मचारी सहितको प्रभातफेरि निकालिएको थियो ।

यस वर्षको ‘सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार’ अर्थसचिव शान्तराज सुवेदीलाई दिईएको छ । मुख्य सचिव डा.सोमलाल सुवेदीको सयोजत्वका गठित पाँच सदस्यीय पुरस्कार छनौट समितिले सचिव सुवेदीलाई सर्वोत्कृष्ट पुरस्कार दिने निर्णय गरेको थियो ।

यसैगरी उत्कृष्ट निजामती सेवा पुरस्कार १० जना तथा निजामती सेवा पुरस्कारबाट ३० जना निजामती कर्मचारी सम्मानित भएका छन् ।

बुध, भदौ २२, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य प्रमुख खबर समाचार

Like us On Facebook

Follow Us On Twitter